जनता टाइम्स

२७ असार २०७८, आईतवार ०८:१२

एमाले कार्यदल बैठक बस्दै: सहमतिको मस्यौदामा हस्ताक्षरपछि स्थायी कमिटीबाट अनुमोदन


काठमाडौं, असार २७ । नेकपा एमालेको आन्तरिक एकता कायम गर्न गठित १० सदस्यीय वार्ता कार्यदलको बैठक अहिले केहीबेरमा बस्दैछ । यसअघि नै कार्यदलले तयार पारेको ९ बुँदे मस्यौदामाथि सामान्य छलफलपछि कार्यदलका सबै सदस्यले हस्ताक्षर गरेर स्थायी कमिटी कमिटीमा पेश गर्ने समझदारी भएको छ ।

एमाले एकताको सहमति मस्यौदालाई स्थायी कमिटीले अनुमोदन गरेसँगै एमालेभित्रको विवाद अब आन्तरिक विषय बन्नेछ । सर्वोच्च अदालतको फैसलाअघि नै एमाले एक भएको सन्देश दिन आजै सहमतिलाई स्थायी कमिटीबाट अनुमोदन गर्न लागिएको हो ।सहमति मुलतः एमालेलाई २०७५ जेठ २ अघिको संरचनाबाट अघि बढाउने र यसबीचमा बनेका समानान्तर कमिटीहरुको व्यवस्थापनका लागि कार्यदललाई सशक्त बनाउने कोणबाट भएको एक सदस्यले बताउनुभयो । विवाद समस्या समाधान गर्दै आज एमालेले आफ्ना आमकार्यकर्तालाई एकताको सन्देश दिँदैछ’, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलका सदस्य गोकर्ण विष्टले भन्नुभयो– ‘दलभित्रको समस्या समाधान गर्ने बिन्दुमा पुगेका छौँ, सहमतिलाई औपचारिकता दिन मात्र बाँकी छ ।

एमालेलाई एकताबद्ध बनाएर कम्युनिस्ट आन्दोलनको रक्षा र नेपालीको चाहनालाई सम्बोधन गर्नका लागि आज एकताको घोषणा गरिने उहाँले बताउनुभयो । एमालेका उपाध्यक्ष भीमबहादुर रावलले पार्टीमा देखिएको समस्या समाधानको अन्तिम बिन्दुमा पुगेको र चाँडै सहमतिको निष्कर्षमा पुग्ने बताउनुभयो । एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बसिरहेको छ ।