जनता टाइम्स

२७ असार २०७८, आईतवार १०:५४

एमाले कार्यदलको मस्यौदाप्रति माधवको आपत्ति, बिधानमै नभएको पद चाहिने अडान


काठमाडौं, असार २७ । एमालेको आन्तरिक एकता कायम गर्न गठित वार्ता टोलीले तयार पारेको मस्यौदाप्रति बरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाउनु भएको छ । आफू पक्षधर ५ वार्ता टोली सदस्यहरुलाई आज विहान निवासमै बोलाएर नेपालले मस्यौदाप्रति असन्तुष्टि जनाउनु भएको हो ।

कार्यदलका एक सदस्यले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार नेता नेपालले केपी ओली एकल अध्यक्ष कायम रहने गरी एमाले एकताको कुनै अर्थ नहुने र ओलीले आफू अनुकुल हुनासाथ धोखा दिने भन्दै आफूलाई अध्यक्ष पद चाहिने सर्त राख्नुभएको छ । ती नेताका अनुसार सहमतिको मस्यौदामा एक बुँदा थपेर माधव नेपाल पार्टीको दोस्रो अध्यक्ष रहने कुरा उल्लेख नहुँदासम्म आफूले कुनै सहमति नमान्ने अडान नेपालको छ ।

विधानमै नरहेको दोस्रो अध्यक्षको कुरा वार्ता टोलीले टुंगो लगाउन नसक्ने भएकाले अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच शीर्ष तहमा सहमति हुनुपर्ने वार्ता टोली सदस्यहरुको भनाइ छ । ओलीले नेपाललाई दोस्रो अध्यक्ष दिन यसअघि तयार भइसकेको दावी समेत नेपालको दावी छ । माधवको यो माग २०७५ जेठ २ को बिधानमा ब्यवस्था छैन । नवौं महाधिवेशनमा ओलीसँगै पराजीत हुनुभएका नेता नेपालले बिधि र पद्धती भन्दै दशौं महाधिवेशन अगावै अध्यक्ष पद माग्नुभएको हो ।