जनता टाइम्स

२७ असार २०७८, आईतवार २०:४२

भीम रावल र सुरेन्द्र पाण्डेसहित कार्यदलका पाँच नेतामाथि माधवले लगाए गम्भीर आक्षेप


काठमाडौं, असार २७ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाअघि केपी ओलीसँग कुनै सम्झौता नहुने निर्णय सुनाउनु भएको छ । आफू निकट केन्द्रीय सदस्य र बिघटित प्रतिनिधिसभाका सांसदहरुसँग आज भएको छलफलमा नेता नेपालले यस्तो घोषणा गर्नुभएको हो । नेता नेपालले सर्वाेच्च अदालतले आफूहरुको सेटिङ अनुसार फैसला गर्ने ठोकुवा पनि गर्नुभएको छ ।

‘सर्वोच्चको फैसलाले एकखालको राजनीतिक शक्ति सन्तुलनको स्थिति बनाउँछ । त्यसपछि दुवै पक्षले आफ्नो शक्ति बुझिन्छ र बदलिदो परिस्थितिमा सम्झौता हुनसक्छ । २८ गते रियालिटी परिवर्तन हुँदैछ भने २७ गते किन सम्झौता गर्ने ?’ छलफलमा सहभागी एक नेताले नेपालको भनाई उधृत गर्दै जनताटाइम्स डटकमसँग भने । ती नेताका अनुसार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डसँग आफ्नो दह्रो सहकार्य रहेकोले फैसलाअघि ओलीसँग एक दुई तीन संझौता गरिन्न भन्दै निर्णय सुनाउनु भएको थियो । नेता नेपालले एमालेमा मिल्नका लागि अध्यक्ष पद नभई नहुने अडान राखेपछि कार्यदलमा भइसकेको सहमति बिथोलिएको छ ।

बैठकमा पनि नेता नेपालले आफूलाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद अनिवार्य चाहिने घोषणा गर्नुभएको छ । बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा माधवसहित अधिकांश नेताले कार्यदलमा रहनुभएका उपाध्यक्ष भीम रावल र सुरेन्द्र पाण्डेसहित पाँचै नेतामाथि गम्भीर आक्षेप लगाउनु भएको छ । माधव नेपालसँगको छलफलमा सहभागी नेताहरुले वार्ता टोलीमा आफ्नो समूहबाट प्रतिनिधित्व गर्ने नेताहरुको भूमिकामाथि आपत्तिज् नाउनु भएको थियो भने माधवले धोकेवाजको संज्ञा दिनुभएको थियो ।

‘माधव नेपाल स्वयंलाई घात गर्ने वार्ता टोलीको सदस्य किन चाहियो ? वार्ता टोलीका सदस्य सार्वभौम होइनन्, उनीहरुले माधव नेपालको समूहलाई प्रतिनिधित्व गरेका हुन्, जब हाम्रो टिम नै वार्ताको टोलीको विपक्षमा उभिन्छ भने त्यो किन चाहियो ?’ बैठकमा सहभागीहरुको प्रश्न थियो । माधव नेपालले पनि कार्यदलमा रहेका नेताहरु बिकेको भन्दै कडा आक्रोश पोख्नुभएका सहभागी अर्का सदस्यले जनताटाइम्सलाई बताए । ‘मैमाथि घात गर्न कार्यदलका सदस्य लागे, चिन्ता नलिनोस उचित हिसाव किताव हुन्छ,’ बैठकमा माधवको भनाई थियो ।