जनता टाइम्स

३१ जेष्ठ २०७६, शुक्रबार १२:११

संसदीय समितिको सरकारलाई निर्देशन : पप्पु कन्ट्रक्सनलाई कारवाही गर्नु


काठमाडौं ।

प्रतिनिधसभाको विकास तथा प्रविधि समितिले विवादित पप्पु कन्ट्रक्सनलाई करवाही गर्न सरकारलाई निर्देशन दिएको छ। काठमाडौंको तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको जिम्मा पाएको सो कम्पनीले पटक पटक निर्णयलाई अटेर गरेका कारण कारवाही गर्न निर्देशन दिएको हो ।

काम अघि नबढाउन निर्देशन दिँदा दिंदै पनि अटेर गरि निर्माण काम बढाइरहेकाले कारवाही गर्नुपर्ने निष्कर्ष निकालेको छ । २०७१ सालमा ठेक्का लिई पूल निर्माणमा रहेको पप्पूले तोकिएको समय भन्दा पनि धेरै पछिसम्म तिनकुनेको पुल निर्माण गर्न असफल भएको थियो । समितिले तिनकुने पुलमा देखिएको प्राबिधिक समस्या तत्काल समाधान गरी निर्माण कार्य अघि बढाउने सुनिश्चतता गर्न पनि आयोजना सम्वद्ध अधिकारीलाई निर्देशन दिएको छ ।

समिती सभापति कल्याणी कुमारी खड्काको नेतृत्वमा समिति सदस्यहरु, विज्ञ र समिति सचिवालयका कर्मचारीहरु समेतको टोलीले मिति जेठ २ गते उक्त पुलको स्थलगत अवलोकन गरेको र त्यहाँ उपस्थित सर्वसाधारण, पत्रकारहरु, पुल महाशाखाका पदाधिकारीहरु, उपत्यका सडक विस्तार आयोजना प्रमुखसँग त्यहाँको समस्याका बारेमा जानकारी लिएको थियो।

अनुगमनको क्रममा २९.५ मिटर गहिरो(लम्बाई)का १६ वटा (१२००मिलीमिटर) पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएको तर निर्माण व्यवसायीले एउटा पाइल १६.५ मिटरको मात्र निर्माण गरेको र २(दुई) वटा पाइल्स क्र्याक भएको प्राविधिक परीक्षणबाट देखिएको आयोजना सम्वद्ध कर्मचारीले जनाएका थिए।

निर्माणधीन पुलको ३ वटा पाइल्समा गम्भीर त्रुटी देखिए पश्चात काठमाडौ उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन भएको तर व्यवसायीले उक्त निर्देशनको पालना नै नगरी पुलको सव–स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको समितीको निचोड छ।