काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सवै षडयन्त्रलाई परास्त गर्दै फेरि एमाले मुलुकमा उदाउने घोषणा गर्नुभएको छ । सर्वाेच्च अदालतले परमादेशबाट सत्ताच्यूत गरेपछि प्रधानमन्त्रीका रुपमा अन्तिम संबोधन गर्दै ओलीले जनादेश पाएको प्रधानमन्त्रीलाई परमादेशबाट हटाउने अनुचित कामको भण्डाफोर गर्दै एमाले पुनः सत्तामा आउने घोषणा गर्नुभएको हो ।
सूर्यको प्रकाशलाई कसैले पनि निस्तेज पार्न सक्दैन, अहिले एकछिन बादल लागेको छ, तर बादल हटाएर फेरि सूर्य उदाउने छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले मुलुक, जनता र संबिधानबिरुद्ध भइरहेको सवै खाले षडयन्त्रलाई एमालेले चकनाचुर पार्ने र समृद्धिको यात्रालाई कसैबाट पनि कमजोर पार्न नदिनका लागि निरन्त्र खवरदारी गर्ने घोषणा पनि गर्नुभयो । उहाँले सवैखाले षडयन्त्रबिरुद्ध आफू र आफ्नो दल एमाले चट्टान बनेर खडा हुने घोषणा पनि गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सबै नेपाली जनतालाई पुग्नेगरी खोप आपूर्तिको प्रबन्ध गरिसकिएको जानकारी पनि दिनुभयो । आफ्नो नेृतत्वको सरकारले एक करोड ५० लाख डोज खोप सहुलियत मूल्यमा किन्ने प्रक्रिया जारी राखेको उहाँको भनाई थियो । ‘खोपको लागि सबै प्रबन्ध भइसकेको छ र दक्षिण एशियामा भारतपछि नेपाल दोस्रो हो । तर, भरेदेखि पहिले नै लगाइएका खोपको फोटो राखेर हामीले गर्यौं भन्न थाल्नेछन् तर म प्रचार होइन काममा विश्वास गर्छु, जनतालाई खोपको प्रबन्ध गरेर जाँदैछु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
ओलीले बालबालिकालाई लगाइने फाइजर ६० लाख डोज खोप पनि खरिद प्रक्रियामा रहेको र भारतबाट १० लाख डोज, चीनबाट अनुदानसहित ५८ लाख डोज खोप प्राप्त भएको जानकारी दिनुभयो । त्यस्तै अमेरिकबाट उपहारस्वरूप १५ लाख डोज र जापानबाट १६ लाख डोज खोप प्राप्त भएको भन्दै कोभ्याक्सअन्तर्गत ३ लाख ४८ हजार डोज आइसकेको र ३ लाख ५० हजार आउने क्रममा रहेको प्रधानमन्त्रीको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्