जनता टाइम्स

२९ असार २०७८, मंगलवार २०:५२

प्रधानमन्त्री देउवाले नै गरे सर्वाेच्चको फैसला अनुचित रहेको स्वीकारोक्ति


काठमाडौं, असार २९ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वाेच्च अदालतले प्रधानमन्त्री तोक्ने कामप्रति आफू पूर्णत असहमत रहेको तथ्य खोल्नुभएको छ । सर्वाेच्च अदालतको संबैधानिक इजलाशबाट प्रधानमन्त्री नियुक्त हुनुभएका देउवाले शितलनिवासमा आज आयोजित शपथग्रहणमा यस्तो खुलासा गर्नुभएको हो ।

देउवाको नामै तोकेर प्रधानमन्त्री नियुक्त गर्न संबैधानिक इजलाशले परमादेश दिएपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले आज दिउसो अदालतको आदेशअनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । तर शपथ ग्रहणमा प्रधानमन्त्री देउवाले संबिधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त गरिएको बेहोरा सच्याउनु पर्ने अडान राख्नुभयो । ‘म त कलिंकित पो भएँ, अदालतले पनि कँही प्रधानमन्त्री तोक्छ र ?’ शपथअघि राष्ट्रपति कार्यालयका पदाधिकारीसँग देउवाको गुनासो थियो ।

उपस्थित आफ्नो गठबन्धनको नेतासँग पनि देउवाले अदालतले नियुक्त गरेको भाषा राखेर आफूलाई कलंकित बनाएको भन्दै आक्रोश पोख्नुभएको थियो । देउवाले अदालतको आदेशअनुसार नियुक्त भन्ने कुरा नसच्चिए शपथ नै नलिने बताएर आफ्नै रिटमा अदालतले परमादेश दिए पनि सर्वाेच्चबाट प्रधानमन्त्री तोक्ने काम कलंकित घटनाका रुपमा स्वीकार गर्नुभएको हो । प्रधानमन्त्री देउवाको यो स्वीकारोक्तिपछि शीतलनिवासले नियुक्तिको भाषा पनि सच्याएको छ ।

नियुक्तिको भाषा सच्याएसँगै नवनियुक्त प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ लिनुभयो । आज साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।