जनता टाइम्स

३१ असार २०७८, बिहीबार ०८:०१

दुरदराजसम्म फैलियो ‘केपी बा’ क्रेज, बाजुरामा ‘केपी बा’ कृषि फर्म


बाजुरा, असार ३० । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई युवा कार्यकर्ताले ‘केपी बा’ भनेर सम्बोधन गर्छन् । उहाँका प्रतिष्पर्धी हौँ भन्ने नेताहरूले यो सम्बोधनलाई रुचाउँदैनन् । तर, ‘केपी बा ’क्रेज गाउँ र दुरदराजसम्म फैलिसकेको छ । क्रेजको रूपमा कसैले पाखुरामा टाटु कुदेका छन् त कोही निधारमा केपी बा को स्टिकर टाँसेर हिँडिरहेका छन् ।

केपी बाका नाममा बिल्कुलै फरक काम बाजुराका एक किसान दम्पतीले गर्नुभएको छ । बाजुराको बडीमालिका नगरपालिका–१ पिनाखेलकी नन्दाकुमारी नाथ र उहाँका श्रीमान् पदम कार्कीले केपी बा कृषि फर्म आन्तरिक राजश्व कार्यालय अछाममा दर्ता गरेर सञ्चालन गरिरहनु भएको छ । नाथका अनुसार यो फर्म २६ चैत २०७७ मा दर्ता गरिएको हो । फर्मको पूरा नाम केपी बा बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फर्म हो ।

आफूहरू सानैदेखि केपी ओलीको समर्थक भएका कारण उहाँको नाममा केही काम गर्ने इच्छा भएको नाथ दम्पतीको भनाइ छ । धेरै ठूलो काम केही गर्न नसकिने भएकोले आफ्नो पेसासँग मिल्दोजुल्दो काम गरेर केपी ओलीको नाम राख्न मन लागेको उहाँहरू बताउनुहुन्छ ।

उहाँहरूले फर्मको नाम त जुराउनुभयो तर यसलाई दर्ता गर्न धेरै सास्ती ब्यहोर्नुपर्‍यो । अछाम कार्यालयका कर्मचारीले केपी बा नामको फर्म दर्ता गर्न मिल्दैन भनेर धेरै दिन दुःख दिएको नाथका श्रीमान् पदम कार्की बताउनुहुन्छ ।