जनता टाइम्स

३१ असार २०७८, बिहीबार ०९:२२

देउवाले माओवादीलाई गृहमन्त्रालय नदिनुको यस्तो छ कारण


काठमाडौं, असार ३१ ।  नेपाली राजनीतिमा पद र पावरकै लागि नेताहरुले जे पनि गर्दै आइरहेका छन् । जुन दलका सरकार आएपनि नेपाली राजनीतिमा भागवण्डा नमिलेपछि सरकार ढल्ने र किचलो हुने गरेको छ । भर्खरैमात्र सर्वोच्चको परमादेशबाट नेपाली कांग्रेस सभापती शेर बहादुर देउवाको नेतृत्वमा सरकार बनेको छ । सरकार गठनका सन्दर्भमा भागबण्डा नमिल्दा कांग्रेस र माओवादीबीच बबण्डर सुरु भएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको गठजोड गएका राजनीतिकदलहरु एक ठाउँमा आए र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएको छ । देउवा सरकारमा रहेका प्रभावशाली मन्त्रालयहरू कुन पार्टीले लिने भन्ने विषयमा दुवै पार्टीबीच संघर्ष देखिएको छ ।

माओवादी पार्टीको निर्णय अनुसार अधिकार बोकेर सरकार गठनका विषयमा वार्ता गर्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देउवाबीच संघर्ष देखिएको हो । प्रचण्डले देउवासँग गृह मन्त्रालय र अर्थ मन्त्रालय माओवादी पार्टीले नै पाउनुपर्ने अडान राख्नुभएको थियो तर देउवाले गृह मन्त्रालय माओवादीलाई दिनुभएन । सरकारमा प्रधानमन्त्रीपछि गृह मन्त्रालयलाई शक्तिशाली मानिन्छ । प्रधानमन्त्री बनेका देउवाले दोस्रो शक्तिशाली मन्त्रालय गृह समेत राखेर माओवादीलाई पेल्नुभएको छ ।

देउवाले माओवादीलाई गृह मन्त्रालय नदिनुको पछाडि गत निर्वाचनका बेला गरेको बेइमानीलाई कारण मान्न सकिने काँग्रेस निकट एक स्रोतले जनाएको छ । स्थानीय तह निर्वाचनमा कतिपय क्षेत्रमा कांग्रेस र माओवादीबीच तालमेल भएको र कांग्रेससँगै सरकारमा रहेका बेला प्रचण्डले धोका दिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वाम गठबन्धन गर्नुभएको थियो । जसका कारण निर्वाचनमा कांग्रेस पराजित हुनुपरेको थियो । सरकारमा जान देउवाले माओवादी केन्द्रको साथ लिएपनि ४ वर्षअघि काँग्रेस नेतृत्वकै सरकारमा रहेर माओवादीले गरेको व्यवहार बिर्सन नसकिने कांग्रेस नेताहरू बताउँछन् । कांग्रेस नेतृत्वको सरकारमा रहेर माओवादी केन्द्रले ओलीसँग चुनावी तालमेल गरेका कारण कांग्रेसले निर्वाचनमा हार्नुपरेको गुनासो पटक–पटक सभापति देउवाले गर्दै आउनुभएको थियो ।

प्रचण्डले त्यतिबेला गरेको राजनीतिक बेइमानीका कारण देउवाले माओवादीलाई गृह मन्त्रालय नदिएको स्रोतको दाबी छ ।प्रचण्ड र एमाले नेता माधवकुमार नेपाल अत्यन्तै निकट भएकाले अझै पनि प्रचण्ड जुनसुकै बेला पनि एमालेसँग मिल्न सक्नेमा देउवा सचेत रहेका स्रोतको दाबी छ । पुरानो घटनाका कारण अझै पनि मन्त्रिपरिषद् विस्तारका क्रममा प्रचण्ड र देउवाबीच संघर्ष हुने देखिएको छ ।

देउवाले माओवादीलाई अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा दिनुभएको छ ।प्रचण्डले धेरै भाग खोज्ने र स्वार्थ पूरा गर्न खोज्ने प्रवृत्तिका कारण देउवासँग पनि विवाद हुनसक्ने विश्लेषण भइरहेको छ । ओलीसँग पनि स्वार्थ खोज्दा नै प्रचण्डको विवाद भएको बताइन्छ ।