जनता टाइम्स

३१ असार २०७८, बिहीबार १९:३५

दाङ एमाले नेताहरूको एकै स्वर-देउवा निवास धाउन छोड


तुल्सिपुर, असार ३१

नेकपा एमाले दाङका नेताहरुले देउवाको निवासमा धाउन छोडेर पार्टीलाई एकतावद्ध बनाउने काममा लाग्न माधव नेपाल समूहलाई आग्रह गरेका छन् । नेकपा एमाले जिल्ला संगठन कमिटीले तुलसीपुरमा आयोजना गरेको वर्तमान राजनीतिक परिस्थितिमा एमालेको भूमिका विषयक अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँहरुले देउवाको निवासमा धाउन छोडेर पार्टीलाई एकतावद्ध बनाउने काममा लाग्न नेपाल समूहलाई आग्रह गरेका हुन् । उनीहरूले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

कार्यदलले गरेको १० बुँदे सहमति पार्टीको संस्थागत निर्णय भएकाले यसलाई दुबै पक्षले अक्षरश पालना गर्दै कार्यान्वयनको प्रक्रियामा अघि बढाउनुपर्ने बताएका थिए । भेलाका प्रमुख अथिति नेकपा एमालेका केन्द्रीय सदस्य नरुलाल चौधरीले पार्टीलाई एकता र बलियो बनाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामी झगडा गरेर होइन, एकता गरेर अघि बढ्नुपर्छ । हिजो के भए ? कसले के भन्यो ? त्यसलाई छोडौं, कार्यदलको निर्णयपछि हामीले के गर्नुपर्छ त्यतातिर लाग्न र सहमतिलाई पूर्णरुपमा पालना गर्नतिर लाग्नुपर्छ यसैमा सबैको भविष्य छ ।’

परमादेश भन्दा जनादेश ठूलो भएको भन्दै नेता चौधरीले नेकपा एमाले सिंगो दाङ एकताको पक्षमा भएको बताउनुभयो । कार्यक्रममा नेताहरु शोभाराम बस्नेत, छविलाल वली, जितेन्द्रमान नेपाली, ढुण्डीराज लामीछाने, ध्रुव आचार्य, रामजी चौधरी, बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया शर्मालगायतले आ–आफ्ना प्रतिक्रिया दिनुभएको थियो ।