जनता टाइम्स

१ श्रावण २०७८, शुक्रबार १४:४३

प्रधानमन्त्री देउवासहित कांग्रेसको तीनै समुहले तय गर्यो मन्त्रीको सूची, यी हुन अबका आठ मन्त्री


काठमाडौं, साउन १ । सत्तारुढ नेपाली कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानमन्त्रीसहित ११ मन्त्रालय कांग्रेसको भागमा पर्ने आँकलनसहित तीनओटै समुहले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको हो ।

नेपाली कांग्रेसका एक नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार देउवा नेतृत्वको सरकारमा संस्थापनबाट ६ जना, बरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट ४ र पूवमहामन्त्री कृष्णप्रसाद सिटौला समुहबाट एक जना मन्त्री पठाउने सहमति नेताहरुबीच जुटेको छ । सो सहमतिसँगै प्रधानमन्त्री देउवाले थप तीन मन्त्री मन्त्रीको नाम टुंगो लगाउनु भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले ठेकेदार रहेका सांसदमध्येबाट जीपछिरिङ लामा र मोहोन आचार्यमध्ये एक जनालाई मन्त्रीको जिम्मा दिनुहुने भएको छ । यो प्रतिस्पर्धामा बहादुरसिंह लामा पनि रहेको र तीनमध्ये एक जना मन्त्री बनाउने निश्कर्षमा प्रधानमन्त्री देउवा पुग्नुभएको छ । यस्तै महिलाबाट पुष्पा भुसाल, राष्ट्रियसभाबाट रमेशजंग रायमाझी र अभिशेकप्रताप शाहमध्येबाट मन्त्री बन्ने भएका छन । सभापति देउवाले आफूसँगै बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानूनमन्त्री नियुक्त गरिसक्नु भएको छ ।

यस्तै बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाको तर्फबाट सरकारमा पठाउने चार जनाको पनि टुंगो लागेको सो समुहका एक नेताले जनताटाइम्सलाई बताए । ती नेताका अनुसार पौडेल–कोइराला समुहबाट प्रकाशमान सिंह, सुजता कोइराला, तेजुलाल चौधरी र दिलेन्द्रप्रसाद बडुलाई मन्त्री बनाउने टुंगो भएको छ । हाम्रो समुहबाट चारै जनाको नाम टुंगिसकेको छ, यसैअनुसार प्रधानमन्त्रीलाई बुझाइने छ,’ ती नेताले जनताटाइम्ससँग भने । यस्तै पूर्वमहामन्त्री सिटौलाको समुबाट गगन थापा र उमाकान्त चौधरीमध्ये एक जनालाई मन्त्री बन्ने हुनुभएको छ ।

यता अर्वपति ब्यापारी बिनोद चौधरी पनि मन्त्री बन्न तीब्र लबिङमा रहनुभएको छ । तर चौधरीलाई मन्त्री बनाउँदा पार्टीका इमान्दार नेता–कार्यकर्ता भडकिने र मन्त्री भएलगत्तै थुप्रै काण्ड बाहिरिने भन्दै देउवा पछि हटनुभएको छ । चौधरीले गरेको बदमासीको फेहरिस्त नै प्रधानमन्त्री देउवासमक्ष पुगिसकेको एक नेताले बताए । ‘बिनोद चौधरीको बदमासीको फाइल नै प्रधानमन्त्रीलाई दिइसकेका छौं, आवश्यक परे तपाई (जनताटाइम्स) लाई दिउँला,’ देउवालाई चौधरीको बदमासीको प्रमाण दिनेमध्येका एक नेताले भने । यद्यपी प्रधानमन्त्री देउवाले नै अनिच्छा देखाए पनि ब्यापारी चौधरी भने मन्त्री पद खरिद गर्ने अभियानमा अबिचलित रुपमा लाग्नुभएको ती नेताले बताए ।

यस्तै डा. मिनेन्द्र रिजाल पनि मन्त्री बनाउनु पर्ने भन्दै चर्काे लबिङमा रहनुभएको छ । तर उहाँको कुराको सुनुवाई नहुने संभावना बढेको छ । यसैबीच देउवाले प्रमुख सचेतक खाँण मन्त्री बन्नुभएकोले भीमसेनदास प्रधान र डा. मिनेन्द्र रिजालमध्ये एक जनालाई प्रमुख सचेतकको जिम्मा दिने योजना बनाउनु भएको छ भने सचेतकमा डिला संग्रौला र लक्ष्मी परियारमध्ये एकलाई जिम्मेवारी दिने तयारी गरेको बुढानिलकण्ठ स्रोतले जनाएको छ ।