जनता टाइम्स

१ श्रावण २०७८, शुक्रबार १७:२८

प्रधानमन्त्री देउवा प्रवेश गरेकै दिन काँग्रेस पार्टी कार्यालय बन्यो सरकारी निवास बालुवाटार


काठमाडौं, साउन १ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित सरकारी निवासलाई अर्को पार्टी कार्यालय बनाएको आरोप लगाउदै आएको नेपाली काँग्रेसले आजै सरकारी निवास बालुटारालाई सानेपाको पार्टी कार्यालय बनाएको छ । प्रधानमन्त्री निवास बालुवाटार झट् हेर्दा जो कोहीलाई नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपा पुगेको भान भएको थियो ।

निर्वतमान प्रधानमन्त्री ओलीले देशमा सुशासन कायम गर्न नसकेको सवैकाम बालुवाटारबाट भयो भनेर आलोचना गर्दै विपक्षी गठबन्धनले पटक–पटक विज्ञप्ति नै निकालेको थियो । तर, अहिले त्यही गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका काँग्रेस सभापति शेरबहादुर देउवा पनि सरकारी निवास छिरेकै दिन पार्टी बैठक राख्नुभयो ।

९ः४७ बजेको शुभसाइत पारेर शुक्रबार बिहान बालुवाटारको सरकारी निवासमा सरेका देउवालाई पहिलो दिन नै आफ्नो सरकारी निवासलाई पार्टी कार्यालयमा परिणत गर्नुभएको हो ।

आज बालुवाटारमा नै प्रधानमन्त्री देउवाले पार्टीको पदाधिकारी बैठकको आयोजना गर्नुभएको थियो । अपरान्ह तीन बजेदेखि बालुवाटारमा पदाधिकारी बैठक बसेको हो । बैठकमा पार्टीको १४ औं महाधिवेशन र पार्टीबाट सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा छलफल भइरहेको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।