जनता टाइम्स

३ श्रावण २०७८, आईतवार ०८:३१

एनआरएनएको १०औं ग्लोवल सम्मेलन कात्तिकमा, अनलाइनबाट मतदान


काठमाडौं, साउन ३ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा आगामी कात्तिकमा गर्ने भएको छ । शनिबार सम्पन्न संघको ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सङ्घको १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा अक्टोबर २३–२५ (२०७८ कात्तिक ६–८) मा आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले सम्मेलनको लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरेको छ । अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरिएको छ । यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले सङ्घले तोकेको शुल्क तिर्नुपर्ने प्रावधान थियो । यस्तै बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय गरेको पन्तले बताउनुभयो ।

बैठकले गैरआवासीय नेपाली सङ्घको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउण्डेशन, आर्थिक नियमावलीलगायतका विभिन्न १९ नियमावली संशोधन गरेको छ । बैठकले आर्थिक वर्ष २०७८र७९ को बजेटसमेत पारित गरेको जनाइएको छ ।