जनता टाइम्स

३ श्रावण २०७८, आईतवार १४:०९

एमालेले दियो माधव समुहलाई दुई बिकल्प


काठमाडौं, साउन ३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमालेले दुई मध्ये एक बिकल्प रोज्न बरिष्ठ नेता माधवकुमार नेपाललाई बाटो खोलिदिएको छ । आज बसेको स्थायी कमिटी बैठकले एमालेमै रहने कि शेरबहादुर देउवातिर लाग्ने भन्ने बिकल्प रोज्न नेपाललाई बाटो खुला गरेको हो ।

‘पार्टीले शेरबहादुर देउवालाई बिश्वासको मत नदिने निर्णय गरेको छ । साथसाथै देउवालाई भोट हाल्ने सांसदहरु एमालेमा रहदैनन भन्ने निर्णय बैठकले गरेको छ,’ बैठकपछि माधव समुहलाई पार्टीको स्पष्ट बिकल्प सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीले भन्नुभयो । सर्वाेच्च अदालतको परमादेश धाराबाट प्रधानमन्त्री नियुक्त हुनुभएकोले एमालेले उहाँलाई बिश्वासको मत दिनै नसकिने निर्णय पनि गरेको छ । तर बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल भने आफ्नै समुहका नेताहरुको सुझाव लत्याएर देउवाका लागि आत्महत्याको बाटोमा लागेपछि पार्टीले पनि बिकल्प दिएको हो ।

एमाले स्थायी कमिटीको निर्णयअनुसार आज बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री देउवालाई बिश्वासको मत दिने सांसदहरु सोही क्षणबाट एमाले भन्ने अधिकार गुमाउने छन । उनीहरु पार्टीका लागि गद्धार घोषित हुँदै एमालेबाट सदाका लागि बाइबाई हुनेछन । ‘बिपक्षी दलका नेतालाई भोट हालेपछि एमाले भन्ने अधिकार नै रहँदैन, जो जो सांसदहरुले देउवालाई भोट हाल्छन, त्यही क्षणबाट उहाँहरु एमाले रहने छैनन,’ निर्णयबारे थप प्रष्ट पार्दै प्रवक्ता ज्ञवालीले भन्नुभयो । स्थायी कमिटीको यो निर्णयपछि देउवा सरकार जोगाएर बैना पचाउने कि पार्टीमा रहने भन्ने निर्णय माधव समुहले लिनुपर्ने भएको छ ।