जनता टाइम्स

३२ जेष्ठ २०७६, शनिबार १४:१८

स्यांजामा एक हजार रोपनी जग्गामा सामूहिक कागती खेती, नमुना बनाउन मन्त्री अर्यालको सुझाव


स्यांजा, जेठ ३२

भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्याकुमारी अर्यालले कृषिको विकास र किसानको उन्नति बिना देशको विकास हुन नसक्ने ठोकुवा गर्नुभएको छ । वालिङ नगरपालिकाको वडा नं १२ र १४ का कृषकहरुले एक हजार रोपनी जमीनमा सामूहिक रुपमा लगाउन थालेको कागती खेतीका बारेमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सो भनाई राख्नुभएको हो ।

सरकार कृषिका माध्यमबाटै देशमा समृद्धि ल्याउने अभियानमा रहेको बताउनुभयो । माटो र हावापानी सुहाउँदो उत्पादन बढी हुने खालका खेती लगाउन पनि किसानहरुलाई उहाँले आग्रह गर्नुभयो । नगरपालिकाका दुई वडाका ढिकिडाँडा, तमादि र अमलडाँडामा एक हजार रोपनी जमीनमा सामूहिक रुपमा गर्न लागिएको कागती खेतीलाई एउटा नमूना मोडलका रुपमा देशभर विस्तार गर्न सकिने मन्त्री अर्यालको भनाइ छ ।

कागती खेती अभियानको नेतृत्व गरिरहनुभएका भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका उपसचिव टेकप्रसाद लुइँटेलले पहाडबाट बसाइ सरेर तराइका साथै बजार क्षेत्र र रोजगारीका लागि विदेश जानेको सङ्ख्या बढेकाले खेती गर्ने जनशक्तिको अभावमा जमीन बाँझो हँुदै जाने क्रम बढेकाले सो अभियान सञ्चालन गरेको बताउनुभयो ।

तीन वर्षसम्म अन्तरबालीका रुपमा कागती खेतीभित्र तरकारी खेतीसमेत लागाइने छ । वडा नं १४ का वडा सदस्य एवं स्थानीय गोमप्रसाद लुइँटेलले बिरुवा रोप्नका लागि रुख काट्नुका साथै जमीन मिलाउने काम भइरहेको बताउनुभयो । लगाएको खेतीबाली बाँदरले खाएर हैरान भएका कृषकहरु सामूहिक कागती खेती लगाउने अभियानले उत्साहित भएका छन् ।