काठमाडौं, साउन ४ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको बिवाद मिलाउन गठित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ । आज बसेको एमाले केन्द्रीय कमिटीको दशौं बैठकले बिघटित कार्यदलको सहमति अनुमोदन गरेको हो ।
केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
आइतवारको संसद बैठकमा बरिष्ठ नेता नेपालसहित २२ जना सांसदले फ्लोर क्रश गरी देउवालाई बिश्वासको मत दिनुभएको थियो । माधवसहित एमाले सांसदहरु बिरोध खतिवडा, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसानले देउवालाई मत दिनुभएको थियो । यसैगरी गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिनुभएको थियो ।

बिश्वासको मत दिनेमा ११ जना प्रत्यक्ष निर्वाचित र ११ जना समानुपातिक सांसद रहेका छन । केन्द्रीय कमिटीको अर्को बैठक मंगलबार अपरान्ह ३ बजे बस्ने एमालेले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्