जनता टाइम्स

४ श्रावण २०७८, सोमबार १८:१३

प्रधानमन्त्रीलाई ओलीको जवाफ : सवैलाई पुग्नेगरी खोपको प्रबन्ध गरिसकेका छौं, खोप–खोप–खोप भनिरहनु पर्दैन


काठमाडौं, साउन ४ । नेकपा एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड खोपको इमानदारीपुर्वक कार्यान्वयन गरे पुग्ने बताउनु भएको छ । अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले नै सवै नेपालीलाई लगाउन पुग्ने गरी खोपको सुनिश्चितता गरिसकेको भन्दै खोपलाई प्रधानमन्त्रीले प्राथमिकता दिइरहन आवश्यक नरहेको बताउनु भएको हो ।

आइतवार सदनमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता भन्दै ‘खोप–खोप–खोप’ भन्नुभएको थियो । निवर्तमान प्रधानमन्त्री ओलीले देउवाको सो भनाईलाई केन्द्रीय कमिटी बैठकमा जवाफ दिनुभएको हो । ओलीले सबै नेपालीलाई पुग्ने गरी खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको सरकारले नै गरेकाले त्यसलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको तथ्य राख्नुभयो ।

‘केही पनि नभएको ठाउँबाट सबैले कोभिड खोप लगाउन पाउने अवस्थामा पुर्याएका छौं । दक्ष जनशक्ति, खोप लगाउने केन्द्रहरू र तदअनुसारको प्रबन्ध र सबै नेपालीलाई क्रमशः लगाउने पुग्ने गरी खोपको व्यवस्था गरेका छौं’, निवर्तमान प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब कसैले प्राथमिकता खोप, खोप, खोप भनेर जोड दिइरहन आवश्यक छैन ।’

आफू नेतृत्वको अघिल्लो सरकारले बाढी, पहिरो र डुबानपीडितलाई पनि आवाससहित राहतको आवश्यक व्यवस्था मिलाएको तथ्य पनि उहाँले राख्नुभयो । देश र जनताका लागि गर्व गर्न लायक काम गरेपनि अन्य दलहरुले आफ्नो अस्तित्व रक्षाका लागि त्यसको विरोध गर्नु परेको उहाँको भनाई छ ।