जनता टाइम्स

५ श्रावण २०७८, मंगलवार १५:२५

माधव–प्रचण्डबिरुद्ध गर्जिए महेश बस्नेत, दिए यति कडा चेतावनी


काठमाडौं, साउन ५ । नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड शेरबहादुर देउवाका पुच्छर भएको ठोकुवा गर्नुभएको छ । राष्ट्रिय युवा संघ अन्तरजिल्ला विशेष प्रदेशको विस्तारित भेलालाई सम्बोधन गर्दै बस्नेतले यस्तो ठोकुवा गर्नुभएको हो ।

‘गाई भैंसी चराउन जाँदा झिंगाले टोक्छ अनि प्याट्ट हान्छ, त्यो पुच्छर त्यति अमर्यादित हुन्छ, त्यसको काम झिंगा मार्ने हो, आज प्रचण्ड र माधव शेरबहादुर देउवाको झिंगा मार्ने अभियानमा हिँडिरहेका छन,’ पूर्वमन्त्री बस्नेतले भन्नुभयो । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन माधव– प्रचण्डहरु कांग्रेसको पुच्छर बनेका ठोकुवा बस्नेतको छ । एमालेका केही नेताहरु मन्त्री र हाउजिङमा फ्लाट पाइने लोभमा कांग्रेसको पछि लागेका खुलासा पनि बस्नेतले गर्नुभयो ।

पार्टीभित्र गद्दारी गर्नेहरुले संविधान बचाउन र सदन जोगाउन देउवालाई मत दिएको बताउनु आफैमा हाँस्यास्पद र गलत रहेको तथ्य पनि उहाँले औल्याउनु भयो । ‘कमरेड केपी शर्मा ओलीले विश्वासको मत मागिरहँदा संविधान र संसद् बचाउने साथीहरुले केपी ओलीलाई भोट हाल्ने हिम्मत किन गर्नुभएन ? एमालेलाई भोट हालेर संविधान र संसद् बचाउँदा के हुन्थ्यो ? पार्टीको ह्वीपविरुद्ध किन कांग्रेसमा भोट हाल्नुभयो ? देशी विदेशी शक्तिको साँठगाँठमा अन्य पार्टीको षडयन्त्रमा किन काम गर्नुभयो ?’ पूर्वमन्त्री बस्नेतको प्रश्न थियो ।

केही केहीले अहिले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउने दिवा सपना देखिरहेका पनि बस्नेतले बताउनुभयो । ‘राष्ट्रिय सभामा एमालेको स्पष्ट बहुमत छ, प्रतिनिधि सभामा एमालेविरुद्ध दुई तिहाइ पुर्याउन इन्द्रेको बाउ चन्द्रे आएपनि सक्दैन,’ सदनमा अहिले पनि एमालेको बहुमत भएको बताउँदै बस्नेतले भन्नुभयो । नेपालको कम्युनिष्ट आन्दोलन समाप्त पार्न देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु लागिरहेका र त्यस्को गोटी माधव प्रचण्ड बनेको उहाँले बताउनुभयो । बस्नेतले माधव नेपाललाई एमालेमा बसेर पार्टी हितविपरीत काम गर्नुभन्दा पार्टी छाडेर जान सुझाव पनि दिनुभयो ।

‘माधव नेपाल नीति र विधिको कुरा गर्नुहुन्छ, म उहाँलाई अनुरोध गर्न चाहान्छु, साँच्चिकै विधि, पद्धति र नीतिको कुरा गर्ने हो भने तपाईं एमाले छोडेर जान सक्नुहुन्छ, एमाले फोर्न सक्नुहुन्छ,’ तर, एमालेमै बसेर एमालेको हितविपरीत काम गर्न पाउनुहुन्न । तपाईं एमालेमा बस्न चाहनुहुन्न भने कृपया एमाले छोड्नुहोस्, हामी पुतला जलाउँदैनौं । तपाईंलाई सम्मानजनक बिदाई गर्छौं,’ बस्नेतको सुझाव थियो ।

बस्नेतले माओवादी अध्यक्ष प्रचण्डको सुरक्षा बढाइएको बारे पनि प्रतिक्रिया जनाउनु भयो । प्रचण्डसँग आफूहरू नभइ प्रचण्ड डराएर सुरक्षा थपेको बस्नेतको निश्कर्ष छ । ‘प्रचण्डलाई थ्रेट बढ्यो रे, डीएसपीको नेतृत्वमा २७ जना सुरक्षाकर्मी थपिए रे हिजो,’ बस्नेतले भन्नुभयो, ‘जुन कुकुर डराउँछ, त्यही कुकुर भुक्छ भन्ने उखान छ । हाम्राविरुद्ध षड्यन्त्र गरेर असंख्य भाषण गर्ने कमरेड प्रचण्ड, हामी तपाईंसँग डराएका छैनौं । तपाईं डराउनुभयो भन्ने प्रमाण यही हो सुरक्षा थ्रेट ।’