जनता टाइम्स

६ श्रावण २०७८, बुधबार ०९:२५

थाहै नभएको खेलको म्यानेजर बनेर बामदेवपत्नी तुलसा पुगिन जापान


काठमाडौं, साउन ६ । नेकपा एमाले सांसद तुलसा थापा जुडो व्यवस्थापकका रुपमा टोकियो पुग्नुभएको छ । नेपाल कवड्डी संघको अध्यक्षलाई जुडो व्यवस्थापकको रुपमा ओलम्पीकमा पठाइदा जुडोमा योगदान दिएका व्यक्तिहरु भने असन्तुष्ट बनेका छन् । तर सांसद थापा भने जुडोको ‘टिम म्यानेजर’ बनेर टोकियो सयर गर्नुहुने छ ।

सांसद तुलसा मात्रै होइन तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा पनि जापान पुग्नुभएको छ। उहाँ जुडोको व्यवस्थापककै रूपमा जापान पुगेको बताइएको छ । सांसद थापा नेकपा एमाले उपाध्यक्ष वामदेम गौतमकी श्रीमती हुनुहुन्छ । उहाँ र प्रकाश शमशेर राणा राजनीतिक आडका आधारमा जिम्मेवारी भन्दा फरक ढंगले ओलम्पीकमा सहभागी भएको जुडो संघका पदाधिकारीहरुको आरोप छ ।

जुडोका पूर्व प्रशिक्षक चन्द्र डंगोल भने उहाँहरुको यो सहभागितालाई खेलकुद क्षेत्रको फोहोरी राजनीतिको संज्ञा दिनुहुन्छ । ‘उहाँहरु विधाभन्दा बाहिर हुनुहुन्थ्यो । तर जुडोकै व्यवस्थापक रुपमा जानु भयो । यो खेल जगतका लागि लागि दुखत् पक्ष हो,’ उनी भन्छन्, ‘जुडोमा उहाँहरु भन्दा पनि धेरै योगदान गरेका व्यक्तित्वहरु हुनुहुन्थ्यो । यसले खेलकुद क्षेत्र राजनीतिक थलो बनिसकेको पुष्टि गर्छ । तर यो कदापी राम्रो होइन।’

यद्यपि ओलम्पिकमा भाग लिँदा खेलको विधासँग सम्बन्धित व्यक्ति नै सहभागी हुनुपर्ने प्रावधान भने रहेको छ । यसअघि ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ र राखेप उपाध्यक्ष शिव कोइराला जापान जाने तय भएको थियो । तर उहाँहरुले बोर्डको बैठकसमेत नराखिएकोले जापान नजाने घोषणा गरेका थिए । २०२० जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना हुने टोकियो ओलम्पिकमा नेपालमा पाँच खेलाडिले भाग लिँदैछन् । जसमा नेपालका तर्फबाट खेलाडी, प्रशिक्षक र पदाधिकारीसहित २४ जना जापान पुगिसकेका छन्