जनता टाइम्स

६ श्रावण २०७८, बुधबार १३:४७

सीमा सुरक्षा र उद्धारमा खटिने जनशक्ति छैन, प्रचण्ड–माधवको शान देखाउन थपियो सुरक्षाकर्मी


काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा सुरक्षा र उद्धारमा खटिने सुरक्षाकर्मी घटाएर सत्ता साझेदार दलका नेतालाई सुरक्षाकर्मी थप गर्नुभएको पाइएको छ । सर्वाेच्च अदालतको परमादेश धाराबाट सत्तामा पुग्नुभएका देउवाले सत्ता सम्हालेलगत्तै गैरकाननी रुपमा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाललाई सुरक्षा थ्रेट रहेको भन्दै सुरक्षाकर्मी थप गर्नुभएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले माधव र प्रचण्डको शान बढाउन भन्दै गृह मन्त्रालय आफैले बनाएको कार्यबिधि बिपरित सुरक्षाकर्मी थप्न गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीको निर्देशनलगत्तै गृहमन्त्री खाँणले गृहसचिवलाई ठाडो आदेश दिएर सुरक्षाकर्मी थप्न लगाइएको मन्त्रालयकै एक अधिकृतले जनताटाइम्सलाई बताए । ‘प्रधानमन्त्रीको निर्देशन छ भन्दै मन्त्रीज्यूले गृहसचिवलाई निर्देशन दिनुभयो, गृहसचिवले तत्कालै कार्यान्वयन गर्नुभयो,’ गृह मन्त्रालयका ती अधिकृतले भने । उनका अनुसार मन्त्रीको आदेशलगत्तै सचिवले प्रहरी महानिरीक्षकलाई प्रचण्ड र माधवको सुरक्षाकर्मी बढाउन निर्देशन दिनुभएको थियो ।

सरकारले सुरक्षा थ्रेट भन्दा पनि सत्तारुढ दलको नेता भएको देखाउँदै शानका लागि प्रचण्ड र माधवको सुरक्षाकर्मी बढाएको हो । प्रधानमन्त्री स्वयंको सुरक्षामा डिएसपी खटिने भएपनि देउवा सरकारले पूर्वप्रधानमन्त्री प्रचण्डको सुरक्षामा डिएस्पी नै पठाएको छ । प्रचण्डको शान बढाएको सन्देश दिन यस्तो गरिएको गृह मन्त्रालयकै अधिकारीहरुले अनौपचारिक रुपमा बताएका छन ।

‘कार्यक्रममा राजा र राष्ट्रपतिलाई जोडेर प्रचण्डले शान पनि छैन, मान पनि छैन भन्दै आफ्नो लुकेको महत्वाकांक्षा प्रकट गर्नुभयो, त्यसैले प्रधानमन्त्रीको जत्तिकै शान छ है भन्न प्रचण्डलाई डिएस्पीको कमाण्डमा सुरक्षाकर्मी थपिएको हो, उहाँलाई सुरक्षा थ्रेट भन्ने कुरा त नाटक हो,’ प्रहरी प्रधान कार्यालयका एक अधिकृतले जनताटाइम्सको जिज्ञासामा भने । सरकारले प्रधानन्यायाधीशलाई समेत सुरक्षा थ्रेट भन्दै सुरक्षाकर्मी थपेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले मापदण्ड नै बनाएर आवश्यक सुरक्षाकर्मी मात्र उपलब्ध गराउने निर्णय गरेको थियो । तर देउवाले सत्तामा आउन साथ बिना कारण मापदण्डबिपरित सुरक्षाकर्मी थपेर मुलुक र जनता होइन, सत्ता साझेदारको खुसी र समृद्धितिर ध्यान दिनुभएको हो । सरकारले कार्यबिधिबिपरित यसरी सुरक्षाकर्मीलाई नेताको काममा खटाउँदा राज्यकोषमा भने मासिक झण्डै पाँच करोडको हाराहारीमा घाटा हुने मन्त्रालय स्रोतको भनाई छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अहिले पनि मुलुकका अधिकांश प्रहरी कार्यालयमा दरवन्दीअनुसारको जनशक्ति छैनन । कतिपय कार्यालयमा त आधा मात्रै जनशक्ति कार्यरत रहेका छन । यस्तो बेलामा सरकारले जनताको सुरक्षामा खटिने कार्यालयको जनशक्ति कटाएर नेताको सुरक्षामा संख्या थप गरेको हो ।