जनता टाइम्स

६ श्रावण २०७८, बुधबार १९:१४

परमादेशको परकम्प : देउवामाथि गम्भीर अभियोग लगाउँदै अमरेशले दिए सांसदबाटै राजीनामा (पत्रसहित)


काठमाडौँ, साउन ६ । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसको महाधिवेशन नकिँदै गर्दा क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली कांग्रेस चुस्त र गतिशिल बन्ने मार्गमा अवरोध भएको जस्ता कारण देखाएर उनले पदबाट राजीनामा दिनुभएको हो ।

सांसद सिहंको राजीनामालाई सर्वाेच्च अदालतले दिएको परमादेशको परकम्पको रुपमा लिइएको छ । अव जुनसुकै सांसद आफ्नो चित्त नबुझे राजीनामा दिएर हिडने अवस्था बनेको हो । सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट गत निर्वाचनमा विजयी हुनुभएको थियो । सर्लाहीमा अन्य पार्टीबाट आएकाहरूलाई समायोजनका नाममा धेरै क्रियाशील सदस्यता दिएको भन्दै उनले असन्तुष्टि जनाउँदै आउनुभएको थियो ।

‘पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको कारण मैले राजीनामा दिन लागेको हुँ’, उहाँले जनता टाइम्ससग भन्नुभयो, ‘पार्टी क्रियाशिल सदस्यता, समायोजनलगायतका पार्टीका केही नेताहरुले चलखेल गरेको पनि मेरो गम्भीर आपत्ति छ ।’

उहाँलेले आफूले बीपीलाई सम्झिँदै उनको स्मृति दिवस पारेर प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको बताउनुभयो ।