जनता टाइम्स

७ श्रावण २०७८, बिहीबार १०:०९

प्रधानमन्त्रीलाई भारतीय धर्मगुरुले दिए शुभलाभको आशिर्वाद


काठमाडौं, ७ साउन ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय हिन्दु धर्मगुरुले भेट गरेका छन् । तीन दिनअघि नेपालको धार्मिक भ्रमणमा आएका जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका) ले भेट गर्नुभएको छ ।

बुधबार अपरान्ह हिन्दु धर्मगुरु बालुवाटारमा देउवा भेट्न पुग्दा देउवाले उहाँको स्वागत गर्दै आशीर्वाद ग्रहण गरेको बालुवाटार स्रोतले जनाएको छ । धार्मिक कार्यमा विश्वास राख्ने देउवाले सो क्रममा धर्मगुरुसँग केहीबेर भलाकुसारी समेत गर्नुभएको थियो । सो क्रममा उहाले देउवाको कार्यकाल सफल हुने योग देखिएको भन्दै दुई देशको सम्बन्ध पनि प्रगाढ बन्ने बताउनुभएको थियो ।

यस्तै देउवाको नक्षत्र राम्रो रहेकाले देशको प्रगति हुने पनि धर्मगुरुको भनाइ थियो । जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका) भारतीय जनता पार्टीसँग निकट रहेको बताइएको छ । उहाँले आजै पशुपतिमा विशेष पूजाआजा गरेर देउवालाई भेट्नु भएको हो ।