काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका नेता धनराज गुरुङले कानूनबिपरित नेतालाई उपचार खर्च दिने सरकारको निर्णयप्रति कडा आक्रोश पोख्नुभएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्चको बिषयलाई लिएर गुरुङले आफ्नै पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको कामप्रति आक्रोश पोख्नुभएको हो ।
उहाँले जुनसुकै सरकारले गरेको भए पनि देउवा सरकारले कानूनबिपरितको उपचार खर्च रोक्नुपर्नेमा त्यसो नगरेको भन्दै आपत्ति जनाउनु भएको छ । ‘आदरणीय नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना गर्दछु । उहाँको उपचार खर्च बापत ओली सरकारले ३० लाख निकासा गरिसकेको र वर्तमान सरकारले पनि उहाँको उपचार गराउने प्रतिबद्धता जनाएको छ । सरकार ! नेतालाई जनस्वास्थ्य ऐन २०७५ बिपरित उपचार खर्च उपलब्ध नगराऔं । कानुनभन्दा माथि नेता हुँदैनन,’ गुरुङले भन्नुभएको छ ।
देउवा सरकारले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन लागेको समिति खारेज, राजदूत नियुक्ति खारेज गर्दै नेताको उपचार खर्च भने अघिल्लो सरकारले गरेको निर्णय भन्दै रकम निकासा गरेको छ । प्रधानमन्त्री देउवाले नै खनालको उपचारमा लाग्ने सवै खर्च बेहोर्ने भन्दै ढुक्कले उपचार गराउन भनिसक्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्