जनता टाइम्स

७ श्रावण २०७८, बिहीबार २२:३८

१९ करोड ४३ लाखको चेकसहित पक्राउ परेका मिटरब्याजीका कारण ‘भूमिगत’ भए मुडे-चरिकोट सडकका ठेकेदार, को हुन मिटरब्याजी ?


काठमाडौं, साउन ७ ।   सिन्धुपाल्चोकको मुडेदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको ३० किलोमिटर बाटो अहिलेसम्म पिच भइसकेको हुनुपर्थ्यो। दुई लेन सडक विस्तार गरेर पिच गर्ने योजनाअनुसार सडक विभाग अन्तर्गतको सडक सुधार आयोजनाले ७९ करोड रुपैयाँमा पाँच वर्षअघि ठेक्का लगाएको थियो। भारतीय एक्जिम बैंकको ऋण सहयोगमा यो सडक निर्माण थालिएको थियो। सडक निर्माणका लागि भारतीय ठेकेदार कम्पनी सकिलहेइदर, नेपाली शंकरमाली र सुनौलो निर्माण सेवा छानिएका थिए। यी तीनैको ‘ज्वाइन्ट भेञ्चर’ ठेक्काको मुख्य ठेकेदार कम्पनी काठमाडौंको शंकरमाली र त्यसका सञ्चालक दीपक सापकोटा हुनुहुन्थ्यो । आयोजनाले यो सडक पूरा गर्न चार पटकसम्म म्याद थपेर ठेकेदारलाई काममा लगाएको थियो। अन्तिम म्याद गत असार २४ गते सकिँदै थियो। भर्खर बाटो पिच गर्न थाल्दै गरेका सापकोटा गत फागुन महिनाबाट ‘भूमिगत’ हुनुहुन्छ । उहाँ ‘भूमिगत’ नभएको भए असारसम्ममा तीस किलोमिटर बाटो पिच भइसक्थ्यो।

‘दुई–तीन महिनामा काम सकिने थियो, तर अचानक ठेकेदार भूमिगत भए, हाम्रो सम्पर्कमा आएनन्,’ आयोजनाका आयोजनाका डिभिजनल इञ्जिनियर दीप बाराही भन्नुभयो । सडक विभाग, सुधार आयोजनाले सापकोटालाई निकै पटक खोजी गर्‍यो। सडक विभागका महानिर्देशक अर्जुनजंग थापा पनि ठेकेदारलाई निकै खोजतलास गरिएको बताउनुभयो ।

केही उपाय नलागेपछि आयोजना कार्यालयले शंकरमालीसँग ठेक्का–सम्झौता भंग गर्ने सूचना जारी गर्‍यो। यसपछि शंकरमालीकै अर्का सञ्चालक डिबी कार्की काम सम्हाल्ने भन्दै आउनुभएको छ । शंकरमालीलाई म्याद सकिएपछिको पेनाल्टीस्वरूप १० प्रतिशत जरिवाना तिराएर आयोजनाले काम लगाइरहेको छ। कार्कीले अहिले बाटोको काम धमाधम काम भईरहेको छ । बाराहीका अनुसार सापकोटा ‘भूमिगत’ हुनुको कारण चेक अनादर मुद्दा हो।

‘के-कति चेक अनादर गरेको मुद्दा हो थाहा भएन, तर उहाँ भूमिगत हुनुको कारण आर्थिक कारोबार बिग्रिएर भएको बुझिएको छ,’ उहाँले भन्नुभयो । सापकोटाविरूद्ध चेक अनादर मुद्दा हाल्नेमध्ये मुख्य व्यक्ति हुन्( मिटरब्याजी गणेश उप्रेती, जो अहिले केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्। उप्रेतीसँग मिटरब्याजमा पैसा चलाएका सापकोटा टाट पल्टिएपछि ‘भूमिगत’ भएको ब्युरोका अधिकारीहरूले जनाएका छन् । ब्युरोले पनि ठेकेदार भूमिगत हुनुको कारण उप्रेती रहेको बुझेपछि त्यसबारे अनुसन्धान भइरहेको जनाएको छ।

सापकोटा आफैंले आएर विस्तृतमा नबताउञ्जेल मिटरब्याज कारोबारको आयतनबारे यकिन गर्न नसकिने ब्युरोका एक अनुसन्धान अधिकृत बताउँछन्। दोलखा–सिन्धुपाल्चोक जोड्ने ‘लाइफलाइन’ सडक निर्माण रोकिएको कारण उप्रेती नै रहेको स्थानियहरु बताउदै आएका छन् ।
‘तिर्नै नसक्ने गरी मिटरब्याजको पैसा बढेपछि सापकोटा मात्रै होइन, दोलखाका धेरै व्यापारी उप्रेतीबाट पीडित देखिन्छन् ।

को हुन उप्रेती

उप्रेती दोलखाबासी नै हुन्। मेलुङ गाउँपालिका १ घर भएका ३३ वर्षीय उप्रेती हाल मित्रपार्कमा गाडीको रिकन्डिसन शोरूम चलाउँथे
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १९ करोड बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । दोलखाको मेलुङ घर भई हाल ललितपुरको भैंसेपाटी बस्ने उप्रेतीलाई पक्राउ गरिएको हो ।

दोलखा घर भई भक्तपुर बस्ने प्रकाश कार्की र रामेछाप घर भई काठमाडौँ बस्ने हेमरा गुभाजुले लिएको ऋणमा उनले चर्को मिटरब्याज लगाएका थिए । प्रकाशबाट पटकपटक गरी चार करोड १६ लाख रकमको चेक र हेमराज गुभाजुबाट चार करोड १४ लाखको चेक लिई रकम दिन मानसिक दबाब दिँदै आएको खुलेको छ । उनले पीडितलाई त्रासमा पारी बाहिर हिँड्डुल र घुमफिर गर्नसमेत बन्देज गराई आपराधिक गिरोहसमेतको प्रयोग गरी ज्यान मार्नेसम्मको धम्की दिएको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । उनको साथबाट विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८६० बराबरको चेकसमेत बरामद गरिएको छ । प्रतिवादीले अन्य व्यक्तिसमेतलाई चर्को मिटर ब्याजमा रकम दिने गरेको अनुसन्धानमा खुलेको हो।

उनले काठमाडौं–७ चाबहिल मित्रपार्कमा उनी द्रिशान्त अटोमोबाइल प्रा.लि.चलाइरहेका थिए। उनलाई चिन्नेहरूका अनुसार उप्रेती मेलुङ–१ पवतीबाट एसएलसी पास गरेपछि २०६२ सालमा चरिकोट आएका थिए। उनले त्यहाँको भीम उच्च माविबाट प्लस टु पास गरे।उनी सामान्य परिवारका मानिस थिए। चरिकोटमा डेरा लिएर बस्थे। प्लस टु पास गरेपछि उनी काठमाडौं हिँडे। ज्ञानेश्वरमा उनले कोठा लिएका थिए। पुरानो बानेश्वरमा आफन्तमार्फत् लगानी जुटाएर मोटरसाइकलको रिकन्डिसन शोरूम खोलेका थिए।

रिकन्डिसन मोटरसाइकलको कारोबार गर्दै गरेका उनी २०६६ सालतिर एकैपटक गाडीको रिकन्डिसन शो रूम खोल्ने भइसकेका थिए। जतिबेला उनको, पर्शुराम बस्नेतसँग उठबस चल्न थालिसकेको थियो। र, त्यतिबेला उप्रेतीले पर्शुरामलाई दुई वटा गाडी दिलाएका थिए। उनीहरूको चिनजान भने जिल्लाबासीबाट सुरू भएको हो। राजनीतिक रूपमा पर्शुराम एमालेमा युवा संघमा आवद्ध हुन् भने उप्रेती पनि युवा संघ निकट नै हुन्। ‘पर्शुरामसँग जोडिएपछि भने उप्रेतीको कारोबार करोडौंमा देखिन्छ, २०/२२ करोडका चेक हातहातै फेला परेका छन्,’ ती अनुसन्धान अधिकृतले भने। उप्रेतीको शोरूमबाट दोलखाका धेरै व्यापारीले चर्को मिटरब्याजमा गाडी किनेको र मिटरब्याज पैसाको ब्याज थेग्न नसक्ने गरी रहेको त्यहाँका स्थानीय बताउँछन्। उप्रेतीसँग मिटरब्याज कारोबार गरेका चरिकोटकै रिजाल थरका एक सुन व्यापारी अहिले लापत्ता छन्। पैसा तिर्न नसकेपछि उनले उप्रेतीलाई घरै पास गरेर उनले तीन वर्षदेखि चरिकोट छोडेको स्थानीय बताउँछन्।

चार महिनाअगाडि उप्रेतीले चरिकोटको चरिघ्याङमा पाँच करोड रूपैयाँ लगानीमा घर किनेका थिए। उप्रेतीले ठेकेदारलाई पैसा लगाउने गरेको, गुण्डा लगाएर पेस्तोल तेर्स्याएर चेक काट्न लगाउने गरेको बताउनेहरू पनि छन्। ब्युरोले भने उप्रेतीले रकम नदिएमा डर त्रास देखाउने गरेको, मानिसहरूलाई बाहिर हिँडडुलमा बन्देज लगाउने गरेको, आपराधिक गिरोध प्रयोग गरी ज्यान मार्ने धम्की दिने गरेको बताएको छ।उप्रेतीसँग कारोबार गरेका गुभाजु आफूलाई त्यस्तो धाकधम्की भने नदिएको बताउनुहुन्छ । ब्युरोले उप्रेतीमाथि विस्तृत अनुसन्धान गरी संगठित अपराधमा मुद्दा अगाडि बढाउने तयारी गरिरहेको छ। मुद्दा दर्तापछि सम्पत्ति शुद्धीकरण प्रयोजनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा फाइल पठाइने ब्युरोले जनाएको छ।