जनता टाइम्स

८ श्रावण २०७८, शुक्रबार ०८:४९

माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि देउवा सरकार ढल्दैन : बिमलेन्द्र निधि


जनकपुर, साउन ८ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार नढल्ने बताउनु भएको छ । महोत्तरीको जलेश्वरमा जिल्ला पार्टी कार्यालय (महेश्वर सिंह स्मृति भवन) र सिंहकै शालिक अनावरण गर्दै उपसभापति निधिले अव माओवादी र जसपाले समथृन फिर्ता लिए पनि सरकार नढल्ने र काँग्रेस नेतृत्वको सरकारले नै चुनाव गराउने बताउनु भयो।

काँग्रेससँग ६१ सिट मात्र रहेपनि प्रधानमन्त्री बनेका पार्टी सभापति देउवाले १६५ जनाको समर्थत प्राप्त गरिसकेकोले सरकार नढल्ने निधिको भनाई थियो । ‘काँग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको छ । विगतमा कांग्रेसले चुनाव हारेकै कारण देशका हरेक क्षेत्रमा भाँडभैलो भएको छ । अब अगामी चुनावमा गाछी छापलाई जिताउने वातावरण बनाउनमा लाग्नुस,’ कार्यकर्तालाई निधिले भन्नुभयो ।

उहाँले कसैलाई हराउनका लागि नभएर काँग्रेसलाई प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा जिताउनका लागि आफू १४ औं महाधिवेशनबाट पार्टीको सभापति बन्न चाहेको जानकारी पनि दिनुभयो ।