जनता टाइम्स

८ श्रावण २०७८, शुक्रबार ०९:२६

पत्रकार महासङ्घ यूकेद्वारा आर्थिक सहयोग


लण्डन, साउन ८ । कोरोना महामारीबाट प्रभावित नेपालका क्रियाशील पत्रकारहरूलाई लक्षित गरी नेपाल पत्रकार महासङ्घ यूके शाखाले सङ्कलन गरेको रु पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । देशभर कार्यरत पत्रकारमध्ये २५ पत्रकारई जनही रु २० हजारका दरले वितरण गर्ने योजना रहेको शाखाले जानकारी गराएको छ ।

‘लेखन वृत्ति’ नाममा पत्रकार महासङ्घ केन्द्रीय समितिमार्फत वितरण गर्ने निर्णय भएको बताइएको छ । सोही निर्णयबमोजिम उठेको कुल रु पाँच लाख १६ हजार पत्रकार महासङ्घ केन्द्रिय समितिको बैंक खातामा जिम्मा गरिसकिएको छ ।

गत जुनको दोस्रो साता बसेको नवनिर्वाचित यूके शाखाको पहिलो बैठकले कोरोना प्रभावित पत्रकारहरूललाई सहयोग गर्ने निर्णय गरेको थियो । सहयोग सङ्कलनका लागि शाखाले नवनिर्वाचित सदस्यहरू दिनेशकुमार परियार, प्रमिला लावुङ र गोमा रानालाई जिम्मा दिएको थियो । हाल कोरोनाबाट सङ्क्रमित भएका पत्रकार र तिनको परिवारलाई लक्षित गरिए पनि तमाम पत्रकारलाई कुनै न कुनै रूपमा महासङ्घ यूकेको शाखाले जोड्ने योजना रहेको शाखाले जनाएको छ ।