जनता टाइम्स

८ श्रावण २०७८, शुक्रबार १२:५२

सभामुख भेटेर भीम रावलले फिर्ता लिए राजीनामा


काठमाडौं, साउन ८ । एमाले उपाध्यक्ष डा. भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिनुभएको छ । रावलले आज सभामुख अग्नि सापकोटालाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको बताउनु भएको हो ।

रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत भन्दा अगाडि राजीनामा दिनुभएको थियो । पार्टी एकताको लागि शेरबहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह माधव नेपालले अस्वीकार गरेपछि चरम अनैतिक काम भएको भन्दै रावलले राजीनामा दिनुभएको थियो ।

रावलले सभामुखलाई आफ्नो कारण दुःख भएको भन्दै त्यसप्रति क्षमायाचना समेत गर्नुभएको छ । रावलले संसद बैठक बस्नुअघि राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ । रावललाई राजीनामा फिर्ताको दवाव दिन सुदुरपश्चिमका नेताहरु काठमाडौं आउनु भएको थियो भने एमाले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा फिर्ता लिन सुझाव दिनुभएको थियो ।