जनता टाइम्स

८ श्रावण २०७८, शुक्रबार १३:१५

सिआइवीले समात्यो वर्किङ भिषामा अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोह


काठमाडौं, साउन ८ । वर्किङ भिषामा अमेरिका पठाने भन्दै ठगी गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय प्रहरी ब्यूरो (सिआइवी)ले अमेरिका पठाउने र अमेरिकामा जेलमा रहेका ब्यक्ति छुटाइ दिने भन्दै ठगीको धन्दा चलाइ रहेका कास्कीका पुकार गुरूङ, प्रकाश गुरूङ र कपिलबस्तुका बिकास भनेर चिनिने बिनोद भुसाललाई पक्राउ गरेको हो ।

सिआइवीका प्रहरी उपरीक्षक (एसपी) श्याम कुमार महतोले दिनुभएको जानकारी अनुसार यी तीन जना मिलेर बिनोद भुसालबाट पटक पटक गरी जम्मा ७४ लाख ९ हजार ५ सय रुपैया बैंकमा जम्मा गर्न लगाएका थिए । भुसालले साउन १ गते ब्यूरोमा उजुरी गरेपछि व्यूरोबाट खटी गएको टोलीले बिहीवार पोखरा महानगरपालिकाको विभिन्न स्थानबाट तीनै जनालाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाईएको एसपी महतोले जानकारी दिनुभयो ।

सिआइवीका अनुसार अनुसन्धानको क्रममा अभियुक्त बिनोद भुसाललाई संयुक्त राज्य अमेरिकामा थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी २५ लाख रुपैया ठगी गरेको कसूरमा जिल्ला प्रहरी कार्यालय दाङले ठगी मुद्दामा कारवाही गरेको पाइएको छ। यसैगरी पीडितलाई अमेरिकामा रहेकी भनिएकी दिव्या राणाले कृषी फर्ममा वर्क परमिट भिषा दिलाउँछु भनी प्रलोभन देखाई काठमाडौंमा रहेका बिनोद भुसालसँग सम्पर्क गरी भने बमोजिम गर्नु भनी विश्वास दिलाएको र निज विनोद भुषालले विभिन्न व्यक्तिहरुको खातामा रकम समेत जम्मा गर्न लगाई ठगी गरेको तथ्य खुलेको छ।

अभियुक्तहरुले अमेरिकन एम्बेसी, काठमाडौंको नक्कली कागजातहरु बनाई पीडितहरुलाई झुक्याएको पाइएको पनि सिआइवीले जनाएको छ ।