जनता टाइम्स

८ श्रावण २०७८, शुक्रबार १३:५७

महाधिवेशनको कार्यतालिका हेरफेर गर्दै कांग्रेस


काठमाडौं, साउन ८ । नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा भएको बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समितिका संयोजकले प्रारम्भिक प्रतिवेदन पेश गर्नुभएको थियो । दुवै प्रतिवेदनमाथि छलफलपश्चात शनिबार पुनः बस्ने पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने उहाँले बताउनुभयो ।

कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकेको थियो । केही जिल्लाको विवादका कारण उक्त कार्य अहिलेसम्म सम्पन्न हुन नसकेकाले पनि महाधिवेशन तालिका प्रभावित हुने निश्चित छ ।

कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको छ । संशोधित कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।

यसैगरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।