जनता टाइम्स

८ श्रावण २०७८, शुक्रबार १८:२५

वाचा पूरा गरेरै छाडिने छ, जति महँगो भए पनि सबै नेपालीलाई खोप उपलब्ध गराइने छ : प्रधानमन्त्री


काठमाडौं, साउन ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभामा आज दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।

‘म फेरि भन्छु, गरेको बाचा पूरा गरेरै छाडछु, जति महँगो भए पनि ऋण वा सापट लिएर सबैलाई खोप उपलब्ध गराइने छ,’ प्रधानमन्त्रीले भन्नुभयो । उहाँले समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने विश्वास दिलाउँदै सबै राजनीतिक दलको साथ र सहयोगबाट मुलुकको हितमा देखिने गरी काम गरिने स्पष्ट पार्नुभयो ।

“राष्ट्रपतिको आह्वानअनुसार हामीले सरकार गठनका लागि बहुमत सदस्यको हस्ताक्षरसहित निवेदन दिएका थियौँ, सोहीअनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको भए त्यसबेला नै संसद्मा विश्वासको मत लिन सकिन्थ्यो तर राष्ट्रपतिबाट त्यो भएन,” प्रधानमन्त्री देउवाले भन्नुभयो ।
संविधानसभाका तत्कालीन अध्यक्षले अदालतको फैसलाबाट दलको चुनाव चिह्न र टिकटबाट उम्मेदवार भई जितेका सांसदलाई ह्विप नलाग्ने अवस्था हुन्छ र भनी राख्नुभएको जिज्ञासाको पनि प्रधानमन्त्री देउवाले प्रतिप्रश्न गर्नुभयो ।

“विश्वासको मत लिने सन्दर्भमा उपस्थितिका लागि सामान्य अनुरोध मात्र गरिएको हो, ह्विप लगाएको होइन ।” उहाँले ठूलो सङ्ख्याका सांसदको साथ पाएर प्रधानमन्त्री बनेकोमा सवैलाई धन्यवादसमेत दिनुभयो ।