काठमाडौं, साउन ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीभित्र कम्युनिष्ट आदर्श समाप्त भइसकेको तथ्य बाहिर ल्याउनु भएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो तथ्य खोल्नुभएको हो ।
परमादेशबाट प्रधानमन्त्री बन्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री खान पार्टीभित्रका सवै सांसदले दवाव र धम्की दिएको खुलासा प्रचण्डले गर्नुभएको छ । उहाँले मन्त्री बनाउन दबाब दिनेहरु अति धेरै रहेको बताउनुभयो । पार्टीका ४९ जना सांसदले नै मन्त्री बनाउन दबाब दिएपछि आफू मानसिक तनाबमा रहेको प्रचण्डको भनाई छ । उहाँले वर्तमान सरकारमा पार्टीमा बढीमा सात मन्त्री पाउने भन्दै ४९ जनालाई कसरी मन्त्री बनाउने ? भन्ने प्रश्न समते गर्नुभयो ।
मन्त्री नपाए पार्टी नेतृत्वलाई गाली गर्दै हिंड्ने प्रवृत्ति विकास भएको उहाँको भनाइ थियो । ‘हामीले धेरै पायौँ भने ७ जनासम्म मन्त्री बनाउन पाउने हो’, कम्युनिष्ट संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भन्नुभयो , ‘तीन चार दिनदेखि म निकै मानसिक तनावमा छु । मलाई त ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो जस्तो लागेको छ ।’
बाहिर कम्युनिष्ट आदर्शको कुरा गर्ने र पार्टीभित्र मन्त्रीका लागि बार्गेनिङ गर्ने प्रवृत्ति मौलाएको ठोकुवा पनि प्रचण्डले गर्नुभयो । उहाँले नरबहादुर कर्माचार्यले कहिल्यै पदको लोभ नगरेको चर्चा गर्दै उहाँको सरलता, सहजता र निस्वार्थताबाट सिक्न नेता कार्यकर्तालाई आग्रह समते गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्