काठमाडौं, साउन ९ । नेकपा एमालेको माधव नेपाल समूह सरकारमा जाने निश्चित भएपछि मन्त्री र अन्य नियुक्तिमा छलफल सुरु भएको छ । हिजो बालुवाटारमा भएको छलफलमा नेपालले सम्मानजनक अवस्था आएमा आफू सरकारमा जाने बताउनुभएको थियो ।
सम्मानजनक भन्नाले आठ जना मन्त्री आफूलाई मिलाइदिन शनिवार बिहान प्रचण्डसँग आग्रह गर्नुभएको नेपाल निकट एक स्रोतले बताएको छ । ‘माधव नेपालले आठ वटा मन्त्रालयको माग अघि सार्नु भएको छ । माओवादीले सात वटा पाउने भएको छ । संसद संख्याको आधारमा भागबण्डा गरौं भनेर प्रचण्डले भन्नुभएको छ,’ माओवादी केन्द्रका एक नेताले भन्नुभयो ‘माओवादीले सात मन्त्री पाउने माधव नेपालले आठजना पाउनुभयो भने माओवादीमा चरम असन्तुष्टि बढ्छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डचाहिँ नेपाललाई चार वटा मन्त्रालय दिने मनस्थितिमा हुनुहुन्छ । जनता समाजवादी पार्टी भन्दा सानो हैसियतको नेपाल समूहलाई त्यति धेरै मन्त्रालय दिंदा सत्तारुढ सबै पार्टीमा आन्तरिक विवाद चर्किने नेताहरुको अनुमान छ । हिजोको बैठकमा पनि मन्त्रालयको संख्या र अन्य नियुक्तिका विषयमा पनि छलफल भएको सहभागी एक नेताले बताउनुभयो । देउवा नेपालप्रति उदार भएर मन्त्रालयको संख्या थप्न सकारात्मक भए पनि चण्डले आफ्नो पार्टीको भन्दा आधा संख्या पनि सांसद नभएको नेपाल समूहलाई सोही अनुसार नै खुम्च्याएर सरकारमा ल्याउनु पर्ने सोचमा हुनुहुन्छ ।
मन्त्रीको संख्याको क्षतिपूर्ति राजदुत लगायतका अन्य नियुक्तिहरुमा गर्न सकिने गरी प्रचण्डले नेपाललाई फकाइरहेको स्रोतको भनाइ छ । ‘संघीय मन्त्री मात्र होइन, मुख्यमन्त्री, प्रदेश प्रमुख, राजदूत लगायतका अरु निकायमा पनि भागबण्डा गर्ने ठाउँ छ,’ देउवा र प्रचण्डको भनाइ छ, ‘त्यसमा मन फुकाएरै लेनदेन गरौंला । संघीय मन्त्रालयलाई मात्र विषय नबनाउँ ।’
गठबन्धनमा मन्त्री र विभिन्न अन्य नियुक्तिमा भागबण्डा गरिए काँग्रेसको भागमा समेत असर पर्ने भएपछि निकट आउदै गरेको महाअधिवेशनका लागि समेत देउवालाई घाटा लाग्ने काँग्रेका एक नेता बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिले प्रधानमन्त्री देउवाले सवै पद र मन्त्री नियूक्तिमा गठबन्धन भन्दै जानुभयो भने आफ्ना कार्यकतालाई रुष्ट बन्ने प्रष्ट छ त्यसैलेपनि उहाँले माधव र प्रचण्डले भनेको जस्तो भागवण्डा हुदैन ।’
यता माओवादीमा शनिवार अध्यक्ष दाहाले भनेको जस्तो ४९ जनाले मन्त्री पद मागेपछि उहाँ भित्र किचलो सुरुभएको छ । एउटा सानो समुहलाई ८ जना मन्त्री दिने हामी ४९ जना सिगो पार्टीले ४ जना पायौ भने यो हामीले स्वीकार्य हुदैन एक माओवादी केन्द्रका नेताले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्