जनता टाइम्स

१० श्रावण २०७८, आईतवार १६:०८

मनसुन फेरि सक्रिय : वाग्मती–गण्डकी–लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं, साउन १० । मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।

‘आज रातिसम्म उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने सम्भावना रहेकोले मनसुन सक्रिय भई बुधबारसम्म वर्षा हुने सम्भावना देखिएको हो,’ मौसमविद् पौडेलले भन्नुभयो । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदैँ देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव पनि दिएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोे छ । यस्तै सोमबार देशभर सामान्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।