काठमाडौं, साउन १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुहारी बिना मगरलाई मन्त्री बनाउने निश्कर्षमा पुगेपछि माओवादीभित्रै असन्तुष्टि बढेको छ । अध्यक्ष प्रचण्डले बीनालाई मन्त्री बनाउने योजना बनाएसँगै माओवादीभित्र असन्तुष्टि बढेको एक नेताले जनताटाइम्स डटकमलाई बताए ।
‘सिएम (अध्यक्ष प्रचण्ड) फेरि पनि बिना कमरेडलाई मन्त्री बनाउने निर्णयमा पुगेको देखिन्छ, यस्ले पार्टीभित्र ठूलै असन्तुष्टि बढेको छ,’ ती नेताले जनताटाइम्ससँग भने । उनका अनुसार सांसद्हरुको एक समूहले बुहारी बीनालाई मन्त्री नबनाउन चेतावनी दिएका छन् । त्यसैगरी कृष्णबहादुर महरालाई पनि मन्त्री बनाइए ठिक नहुने चेतावनी उनीहरुले दिएका छन् । यही चेतावनीपछि अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रममै सवै सांसदले मन्त्री मागेर तनाव दिएको अभिब्यक्ति दिनुपरेको ती नेताले बताए ।
माओवादी स्रोतका अनुसार धर्मशिला चापागाईं, हरिबोल गजुरेल, अमनलाल मोदी, इन्दुकुमारी शर्मासहित एक दर्जन सांसदहरुले अध्यक्ष प्रचण्डलाई भेटेर बिना र महरालाई मन्त्री नबनाउन चेतावनी दिनुभएको छ । अध्यक्ष प्रचण्डले बिनालाई मन्त्री बनाउने चक्कर चलाउँदा मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको माओवादी सांसद्हरुको बुझाई रहेको छ । अध्यक्ष प्रचण्डले सुरुमै जनार्दन शर्मा र पम्फा भुषाललाई मन्त्रीमण्डलमा पठाइसक्नुभएको छ । अब बुहारी बिना र महरालाई मन्त्रिमण्डलमा लैजाने उहाँको योजना रहेको छ ।
प्रचण्डकी बुहारी बिना पहिले पनि मन्त्री हुनुहुन्थ्यो । पार्टीमा योगदान गरेका पूरानाहरुलाई पाखा लगाउँदै प्रचण्डले बुहारीलाई सांसद् बनाउनुभएको थियो । त्यसपछि पहिलो रोजाईको रुपमा केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनाउनुभएको थियो । मन्त्रिमण्डल बारम्बार पुनर्गठन हुँदा पनि बुहारी बिना अविच्छिन्न मन्त्री पदमा सुरक्षित रहनुभएको थियो ।
उता, कृष्णबहादुर महरा भने सभामुख हुनुहुन्थ्यो । संसदमै कार्यरत एक महिलासँगको लसपस काण्ड सार्वजनिक भएपछि महरा सिधै प्रहरी हिरासतमा पुग्नुपरेको थियो । बिना र महराबिरुद्ध आफ्नै सांसद लागेपछि प्रचण्ड तनावमा पर्नुभएको र सवैले मन्त्री मागे भन्दै अपमान गरेको बताइएको छ । स्रोतका अनुसार महरा र बिनालाई मन्त्री बनाउने पृष्ठभूमि बनाउनलाई नै प्रचण्डले ‘हाम्रो पार्टीका ४९ जनै सांसद्लाई मन्त्री पद चाहिएको छ’ भन्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्