जनता टाइम्स

१० श्रावण २०७८, आईतवार १७:३५

कांग्रेसको किचलो : पार्टी मुख्यालय सानेपाको मूलगेटमा तीन नेताको आमरण अनशन


काठमाडौं, साउन १०

कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यताको विषय पनि पेचिलो बनेको छ । यही विषयलाई लिएर पार्टी मुख्यालय सानेपाको मूलगेटमा धनुषाका तीन नेता आमरण अनशनमा रहेका छन् । बाराका नेता कार्यकर्ता तेह्रौं दिनदेखि धर्नामा छन् । क्रियाशील सदस्यता छानबिन समितिले काम अन्तिम चरणमा पुर्पाएका बेला असन्तुष्टिलाई लिएर धर्ना र अनशन बस्नेको संख्या बढ्दै गएको छ । उनीहरु सबैको माग साझा छ, ‘फर्जी क्रियाशील सदस्यता बदर होस् ।’

महासमिति सदस्य राम पल्टन साह आमरण अनशनमा किन ?

धनुषाका कांग्रेस नेता राम पल्टन साह छैटौं दिनदेखि आमरण अनशनमा छन् । उनीसहित पूर्वसांसद डा. चन्द्र मोहन यादब र तरुण दल जिल्ला कार्यसमिति सदस्य दिनेश नायक लगायतका नेता आमरण अनशनमा बसेका छन् । धनुषामा मापदण्ड विपरीत क्रियाशील सदस्यता वितरण गरिएको भन्दै त्यसलाई मान्यता नदिन माग गर्दै उनीहरु अनशन बसेका हुन् ।

राम पल्टन साहले भन्नुभयो,‘नयाँ क्रियाशील सदस्यतामा पार्टीको विधान, नियमावली एवं केन्द्रीय परिपत्र विपरीत प्रक्रिया मिचेर सदस्यता वितरणमा व्यापक धाँधली भएको छ । यो बदर नभएसम्म हामी अनशन रोक्दैनौं ।’ उहाँले पार्टीको तहगत निर्णय नगरी एक पक्षीय रुपमा नयाँ क्रियाशील वितरण गरिएको आरोप लगाउनुभयो । उहाँले थप्नुभयो, ‘जिल्ला पार्टी कार्यालय धनुषामा निरन्तर धर्ना बस्दा पनि सुनुवाइ नभएपछि केन्द्रीय कार्यालयमै अनशन बस्न बाध्य भएका हौं ।’

अनशन बसेका नेताहरुका अनुसार धनुषा क्षेत्र नम्बर १ मा धेरै विवाद रहेको छ । सबै नगरपालिकाका–१३ वटै वडाका साथै धनुषाधाम नगरपालिकाको ३ र ४ नम्बर वडामा नगर सभापति र प्रदेशसभा संयोजकको दस्तखत बिना नै क्रियाशील सदस्यता वितरण गरिएको अनशनरत नेताहरुको भनाइ छ ।

त्यस्तै धनुषाधाम नगरपालिका १, २, ५, ६, ७ र ९ नम्बर वडामा पनि नगर सभापतिको दस्तखत नभएको, धनुषाधाम नगरपालिका वडा नम्बर ८ मा वडा र नगर सभापतिको दस्तखत नभएको, गणेशमान चारनाथ नगरपालिकाका ११ वडामा प्रदेशसभा संयोजकको दस्तखत नभएको उनीहरुको भनाइ छ । यस्तै हंसपुर नगरपालिका–८ मा वडाको निर्णय एवं सभापतिको दस्तखतबिना नै ५१ जनालाई क्रियाशील सदस्यता वितरण गरेको र वडाको सूचीबाट २० जनालाई हटाएको आन्दोलनरत नेताहरुले बताए ।

प्रक्रिया मिचेर बुझाइएको क्रियाशील सदस्यता बदर हुनुपर्ने उनीहरुको माग छ । सो आमरण अनशनका केन्दीय वार्ता टोलीमा सह–महामन्त्री प्रकाशशरण महत र केन्द्रीय सदस्य रामशरण महतको टोली गठन भएको छ । अनसनरत राम पल्टन साहले भन्नुभयो,‘हामीसँग वार्ता टोलीलाई भेटघाट गर्दा आश्वासन दिँदै म तपाईहरुको माग पुरा गर्न लगाउँछु भने, तर नेता हामीलाई लिखित सम्झौता नभई अनशन जारी नै राख्छौं ।’