काठमाडौं, साउन १० । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल कतिसम्म निकृष्ट हुनुहुन्छ भन्ने तथ्य संसदीय समितिमा आजको एउटा घटनाले पुष्टि गरेको छ । एमालेमा १५ बर्ष हुकुमी शासन चलाउनु भएका नेपालले पूर्वमन्त्रीसमेत रहनुभएका निर्वाचित सांसद नारदमुनी रानालाई हातले इसारा गरेर ज्ञानेन्द्र शाहको शैलीमा ‘तुरुन्त बाहिर जा’ भन्दै आफ्नो दानव स्वरुप प्रकट गर्नुभएको हो ।
अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा माधवले आफ्नो धारणा राखिरहँदा सांसद रानामाथि एक्कासी खनिनुभयो । बैठक कक्षमा माधवको दानवी स्वरुप देख्दा यस्तो लाग्थ्यो, ‘माधव मालिक हुन, बाँक सव दास ।’ एमाले सांसद रानाले आफ्नो भनाई राखिरहँदा माधव समुहका केही सांसद भन्दा अगाडि बढेर माधवले फर्मान जारी गर्नुभयो, ‘प्रतिगमनका मतियार बैठक कक्षबाट बाहिर जा’ उहाँको अन्तिम शब्द सवैले सुन्ने गरी भिडियोमा नभए पनि हातको इसारा र मुहार भावले यही भनिरहेको छ । आजको बैठकमा माधवले बोलेको केही समयपछि बैठकमा पूर्वमन्त्रीसमेत रहनुभएका सांसद नारदमुनि राना प्रवेश गर्नुभयो, उहाँले आफ्नो बोल्ने पालो आएपछि भनाई राख्नुभयो ।
आफ्नो भनाई राख्ने क्रममा रानाले संसद्लाई जनताले नभई सर्वोच्च अदालतले पुनःस्थापना गरेको भन्दैसंसद् चाहिनेहरू वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मति लिइरहेका बेला कहाँ थिए भन्ने यक्ष प्रश्न राख्नुभयो । ‘आफ्नो पार्टीको प्रधानमन्त्री हुँदा घरमा गएर सुत्ने अनि संसद् चाहिन्छ भन्ने ? यो संसद् अदालतले ल्याएको हो, जनताले होइन । वरिष्ठ नेताहरूले जिम्मेवारी लिनुपर्छ,’ रानाले भन्नुभयो । उहाँले यति भन्न नसकिदै माधव नेपाल हिरण्य कस्यपु शैलीमा जंगनुभयो ।
आक्रोशित हुँदै नेता नेपालले ‘प्रतिगमनका मतियार बाहिर जा’ भन्ने आदेश दिनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले अपमान गरेको भन्दै तीन बर्ष भाषण गर्नुभएका नेपालको आजको दानवी शैली प्रकट भएपछि सवै चकित परेका छन । एमालेमा रहेका नेतादेखि कार्यकर्तासम्म माधवको यस्तो दानवी शैलीप्रति जानकार भएपनि कांग्रेस–माओवादी लगायतका सांसद भने चकित परेका छन । ‘माधव त अरुलाई दानवकै शैलीमा पो हेप्दा रहेछन, पहिलो पटक देखियो, ओलीले अपमान होइन, अपमान त माधवले पो गर्दारहेछन,’ बैठक सकिएपछि नेपाली कांग्रेसका एक सांसदले जनताटाइम्ससँग भने । ती सांसदका अनुसार माधवले अन्य अपशब्द समेत बोल्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्