जनता टाइम्स

११ श्रावण २०७८, सोमबार ०७:२९

थाहै नदिई मन्त्री बनाएपछि सत्तारुढ गठबन्धनमा विवाद : प्रधानमन्त्री देउवाको चर्काे आलोचना


काठमाडौं, साउन ११ । सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सात सदस्यीय कार्यदल गठन गरेको थियो । तर, त्यही कार्यदलसँग सामान्य छलफल नै नगरी प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री नियुक्त गरेपछि कार्यदलमा असन्तुष्टि बढेको छ । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित सात सदस्यीय कार्यदललाई थाहै नदिई आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गर्नुभएको थियो।

सरकारको साझा नीति तथा कार्यक्रम, मन्त्रालय बाँडफाँट र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर कार्यदलले सरकारलाई राय सुझाव दिने भनिए पनि आइतबार स्वास्थ्य राज्यमन्त्री नियुक्ति गर्दा कार्यदललाई पत्तो नै नदिएपछि कार्यदलमा असन्तुष्टि देखिएको हो ।कार्यदलका संयोजक खड्कालाई तपाईंहरुको सुझावकै आधारमा प्रधानमन्त्रीले श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ? भन्ने संचारकर्मीको प्रश्नमा खड्काले मन्त्री नियुक्तिबारे आफूहरूलाई थाहै नभएको बताउनुभयो ।

‘मन्त्री नियुक्तिबारे केही थाहा छैन । मन्त्री बनाएको नै थाहा हुँदैन भने यो कार्यदल भनेर हल्ला गर्नुको केही अर्थ छैन’, खड्काले भन्नुभयो, ‘न त मन्त्री बनाएको थाहा हुन्छ, न केही गरेको थाहा हुन्छ, अनि केको कार्यदल ?’खड्का नेतृत्वको कार्यदलको सदस्यमा काँग्रेसका डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ छन् ।

त्यसैगरी जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव कार्यदलमा छन् ।निजी विद्यालयका सञ्चालकसमेत रहेका श्रेष्ठलाई देउवाले राज्यमन्त्री बनाएसँगै सत्तारुढ गठबन्धनमा जस्तै आम जनसमुदायमा पनि प्रश्न उठेको छ । देउवाले गण्डकी प्रदेशमा दलित नेतालाई बाइपास गरेर ठेकदारलाई मन्त्री बनाएको चर्चा चलिरहेकै बेला सङ्घमा पनि घरानियाँ व्यवसायीलाई प्राथमिकता दिइएको भन्दै देउवा सरकारमाथि आलोचना भएको छ ।