जनता टाइम्स

११ श्रावण २०७८, सोमबार १३:०४

प्रचण्डले सुरु गरे पुरानै खेल, रामचन्द्र बोलाएर बालुवाटारबिरुद्ध खुमलटारमा बनाए यस्तो योजना



काठमाडौं, साउन ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाउदा आफूसँग सल्लाह नगरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल गुनासो पोख्न खुमलटार पुग्नुभएको छ । आफ्नै पार्टीका सभापति तथा प्रधानमन्त्री देउवामाथि लगाम लगाउन भन्दै बरिष्ठ नेता पौडेल माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डकहाँ पुग्नुभएको हो ।

देउवाले आइतवार कसैसँग सल्लाह नै नगरी आफ्नी पत्नी आरजु राणा देउवाको ब्यापारिक साझेदारसमेत रहनुभएका उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको थियो । माओवादीको मुख्य दावी रहेको स्वास्थ्य मन्त्रालयमा प्रधानमन्त्री देउवाले आफ्नो मान्छे नियुक्त गरेपछि चिढिनुभएका प्रचण्डले देउवाबिरोधीलाई एक बनाएर घेराउन गर्ने योजनासहित पौडेललाई आफ्नो निवास बोलाउनु भएको बुझिएको छ ।
श्रेष्ठको नियुक्तिलाई लिएर पौडेलले सार्वजनिक रुपमै आपत्ति जनाउनु भएको छ भने प्रचण्डले पनि प्रधानमन्त्रीको बदमासी भन्ने टिप्पणी गर्नुभएको छ ।

देउवाले यसैगरी पार्टीमा सल्लाह नगरी मन्त्री थप्दै जाने चिन्ता लिएर पौडेल आज विहान प्रचण्ड निवास खुमलटार पुग्नुभएको हो । सरकार सञ्चालन कार्यदलका संयोजक एवं कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काले पनि आफूलाई थाहै नदिइ राज्यमन्त्री नियुक्त गरेको बिषयमा सावर्जनिक रुपमै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

खुमलटार स्रोतले जनताटाइम्सलाई दिएको जानकारीअनुसार प्रचण्डसँगको भेटमा पौडेलले प्रधनमन्त्रीले एकलौटी रुपमा मन्त्री छनौट गर्दा पार्टीको आन्तरिक सन्तुलन खलबलिने भएकोले यसलाई रोकिदिन र देउवामाथि दवाव दिन माग गर्नुभएको छ । पौडेलको यो मागलाई प्रचण्डले मुस्कुराउँदै स्वीकार गर्नुभएको र बिगतमा जस्तै खुमलटार बसेर बालुवाटारबिरुद्ध अभियान चलाउने सन्देश दिनुभएको छ। करिब एक घण्टा भएको भेटघाटमा सरकारमा आफ्नो समूहबाट मन्त्री हुने नेताहरुको नाम समेत प्रचण्डलाई बुझाएको स्रोतले जानकारी दियो । ‘मन्त्री छनौटमा उहाँले गुनासो पोख्नु भयो । विगतमा प्रधानमन्त्री हुँदा पनि यस्तै गर्नुभएको थियो । अहिले पनि त्यस्तै सुरुवात गर्नुभएको छ । सल्लाह गरेर मात्र निर्णयमा पुग्न सजग गराइदिनुहोला ,’ स्रोतका अनुसार प्रचण्डसँग पौडेलको भनाई थियो ।

प्रचण्डले आफूले देउवालाई सत्ता गठबन्धन र कांग्रेसको आन्तरिक समिकरण विचार गरेर मात्र निर्णय लिन सुझाउने आश्वासन पौडेललाई दिनुभएको छ । यस्तै प्रचण्डले बालुवाटारबिरुद्ध खुमलटारमा योजना बनाउने भन्दै त्यसमा सघाउन पौडेललाई आग्रह गर्नुभएको छ । प्रचण्डले आफ्नै पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहनुभएको बेला नेकपाकै लोभी र स्वार्थी समुह भेला पारेर यसैगरी बालुवाटारबिरुद्ध अभियान चलाउनु भएको थियो । देउवा नेतृत्वको सरकार गठन भएको दुई सातामै प्रचण्डले पुनः पुरानै शैलीलाई अघि बढाउनु भएको हो ।