जनता टाइम्स

११ श्रावण २०७८, सोमबार १३:५८

जसपा हेड काउन्ट : मनिस सुमन र राजकिशोरद्धारा गुट परिवर्तन


काठमाडौं, साउन ११

जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंगो लगाउन निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरूको हेड काउन्ट गर्दा महन्थ ठाकुर पक्षका दुई नेता उपेन्द्र यादव पक्षमा जानुभएको छ । महन्त ठाकुर पक्षका नेता मनिष सुमन र राजकिशोर यादवले गुट परिवर्तन गर्नुभएको हो । आज निर्वाचन आयोगमा पुगेर उहाँहरूले जसपाका अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गर्नुभएको हो ।

हेड काउन्टका लागि निर्वाचन आयोग पुग्नुभएको मनिष सुमनले आफूले मूलधारको पार्टीको पक्षमा हस्ताक्षर गरेको बताउनुभयो । सनाखतपछि आयोग परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आफूले पार्टी एकताका लागि यादवको पक्षमा हस्ताक्षर गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले पार्टी एकताको लागि धेरै प्रयास गरेँ । तर महन्थ ठाकुरले मान्नु भएन । मधेसमा संगठित पार्टीको आवश्यकता छ । एकीकृत पाटी हुनुपर्छ भन्ने मेरो प्रयास हो । जहाँ मूलधारको पार्टी छ त्यहाँ सनाखत गरेँ ।’ त्यस्तै ठाकुर पक्षका नेता राजकिशोर यादवले पनि उपेन्द्र यादव पक्षमा हस्ताक्षर गर्नुभएको छ । उहाँले निर्वाचन आयोगमा पुगेर यादव पक्षमा हस्ताक्षर गर्नुभएको हो ।