जनता टाइम्स

११ श्रावण २०७८, सोमबार १९:२६

उपेन्द्रलाई जसपाको आधिकारिकता, महन्थ पक्षका सांसदको पद जाने–नजानेबारे फैसला मौन (पूर्णपाठ)


काठमाडौं, साउन ११ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाको यादव पक्षमा बहुमत देखिएकाले इजलासले सोही पक्षलाई आधिकारिकता दिने फैसला गरेको जानकारी दिनुभयो ।


‘आजको इजलाशले बहुमत सदस्यहरुको समर्थन रहेको उपेन्द्र यादव समूहले आधिकारिकता पाएको छ,’ श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार ५१ जनाको केन्द्रीय कार्यकारणी सदस्यहरुमध्ये ३४ जनाले यादवको पक्षमा र १६ जनाले महन्थ ठाकुरको पक्षमा सनाखत दिएका छन भने एक जना तटस्थ बसेका छन । जसपा आधिकारिकता विवाद निरुपणको लागि निर्वाचन आयोगले एकीकरणकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई प्रत्यक्ष उपस्थित गराई सनाखत गरेको हो ।

आयोगले नयाँ दल गठनका लागि ठाकुर पक्षलाई अबसर पनि दिएको छ । आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने र ठाकुर पक्षले नयाँ दल दर्ता गर्न आएमा छुट्टै राजनीतिक दलका रुपमा मान्यता दिने ठहर गरेको हो । तर, उपेन्द्र यादव पक्षमा नरहेका सांसदले जसपा छाडेमा उनीहरुलाई कारबाही गर्न राजनीतिक दल सम्बन्धी ऐन आकिर्षत हुने, नहुने बारे भने फैसला मौन देखिएको छ ।