जनता टाइम्स

१२ श्रावण २०७८, मंगलबार १२:२९

यसकारण पानी पर्दा चिन्तित बन्छन् ‘न्यु प्लाजा’ क्षेत्रका स्थानीय


काठमाडौं, साउन १२

काठमाडौँको न्यु प्लाजा क्षेत्र सानोतिनो झरीमा पनि डुब्न थालेपछि स्थानीयहरु चिन्तित बन्ने गरेका छन् । गत वर्षहरुमा यस्तो समस्या नभएपनि यसवर्षदेखि भने स्थानीयहरु चिन्तित बनेका हुन् । केहीदिनअघि मात्रै झरी परेको समयमा न्यु प्लाजा डुवानमा परेको थियो । हिजो मात्रै यस्तो समस्याको समाधान खोज्न भेला भएका स्थानीयले काठमाडौँ महानगरकी उपप्रमुख प्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडाध्यक्ष कुश ढकाललाई छिटो भन्दा छिटो यसको व्यवस्थापन गर्न सुझाव दिएका थिए ।

एक स्थाीयले भन्नुभयो, ‘पानी पर्न थालेपछि डिल्लीबजार सिम्रिक गल्लीतिरबाट आएको खुल्ला ढलले एकैछिनमा डुवाउँछ । पुतलीसडक मोडबाट अनामनगरतर्फको सडक खण्ड जलमग्न हुन्छ, सिंहदरबारमा प्रवेश गर्न हाम्रो पहुँच पुगेन, ढलको बाटो त्यही हो त्यसैले यसको निकास नभइ डुवान रोकिँदैन ।’

उपप्रमुख खड्गीले ढल निकासको समस्या समाधान गर्न पहिले प्रारम्भिक अध्ययन, त्यसपछि प्राविधिक अध्ययन गरेर दिगो समाधान खोज्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजो टुक्रे योजनामा काम गर्दा आजको स्थिति भोग्नुपरेको हो । हतारमा काम गरेर दीगो हुँदैन त्यसैले पछिसम्म सोचेर काम गर्न आवश्यक छ, सबै सहभागी बनौँ र दिगो समाधान खोजौँ ।’

वडा अध्यक्ष ढकालले आफ्नो वडाका २ ठाउँमा ढल निकासको समस्या रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो,‘घट्टेकुलो र न्युप्जालामा यो समस्या छ, यसको समाधानमा आज देखि नै लागौँ, हामी योजना बनाउँछौँ, तपाईँहरु योजना कार्यान्वयनमा सहभागी हुनुहोस् ।’ यता महानगरका भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाले ढलको समस्या समाधान गर्न सिंहदरबार जोडिएको क्षेत्र र माथिल्लो क्षेत्र दुईवटै लाइनमा समाधान खोज्नुपर्ने बताउनुभयो ।