काठमाडौं, साउन १२ । सरकारले नेपाली सेनाका कायम मुकायम प्रधानसेनापतिमा बलाधिकृत रथी प्रभुराम शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले बलाधिकृत रथी शर्मालाई यही साउन २५ गतेदेखि लागू हुने गरी नेपाली सेनाका कायममुकायम प्रधानसेनापतिमा मुकरर गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापा उमेर हदका कारण यसै महिना सेवाबाट निवृत्त हुन लाग्नुभएको छ । शर्मा थापापछिका बरिष्ठ अधिकृत हुनुहुन्छ । भावी प्रधानसेनापति बन्न लाग्नुभएका बलाधिकृत रथी शर्माले नेपाली सेनामा बिवादरहित छवी बनाउनु भएको छ । उहाँ नेपाली सेनामा प्रधानसेनापति थापाले अघि बढाउनु भएको सुधार अभियानका एक प्रमुह योजनाकारसमेत हुनुहुन्छ ।

शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका छन् । हालका प्रधानसेनापति थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । अवकाशको एक महिनाअघि विदा बस्ने परम्परा अनुरुप थापाले साउन २४ गतेबाट विदा बस्ने तयारी गर्नुभएको थियो । थापाको औपचारिक विदाइ भने भदौं २५ गते हुने नेपाली सेनाले जनाएको छ । ४३ औं प्रधानसेनापति पूर्णचन्द्र थापाले यसअघि जेठ २३ मै एक कार्यक्रममार्फत नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको घोषणा गर्नुभएको थियो । शर्मा थापाका असल उत्तराधिकारी रहेको सैनिक अधिकृतहरुको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्