जनता टाइम्स

१२ श्रावण २०७८, मंगलवार २०:४२

देउवाको बुद्धि भए पो बुद्धि पलाउनु : डाक्टर केसी


काठमाडौं, साउन १२ । अनसन किङ डाक्टर गोबिन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवा माफियाको संरक्षणमा खुला ढंगले उत्रिएको भन्दै कडा आक्रोश पोख्नुभएको छ । प्रधानमन्त्री देउवाले स्वास्थ्य माफियालाई नै स्वास्थ्य मन्त्रालयको नेतृत्व सुम्पिएर आफूलाई माफिया राजको नाइके भएको प्रमाण दिएको निश्कर्ष पनि डाक्टर केसीले सुनाउनु भएको छ ।

‘शेरबहादुर देउवाले केही गर्छन कि भन्ने थियो । तर आउनेबित्तिकै शैक्षिक माफियालाई मन्त्री बनाए । राम्रो छवि भएका मान्छेहरू धेरै थिए तर उनले पनि माफियालाई साथ दिए । यही तरिकाले माफियालाई पदहरू विक्री गर्ने प्रक्रिया चलिरहने हो भने देउवाबिरुद्ध पनि लडनुपर्छ,’ माइतिघरमा आज आयोजित बिरोध प्रदर्शनमा डाक्टर केसीले भन्नुभयो । उहाँले देउवाको बुद्धि नपलाएको भन्दै थप आक्रोश पोख्नुभयो । ‘पाँचौं पटक प्रधानमन्त्री भएका देउवाको बुद्धि पलाउँछ कि भनेको त, केको पलाउनु ? बुद्धि भए पो बुद्धि पलाउनु ?,’ डाक्टर केसीले भन्नुभयो, ‘यस्तो गैरकानुनी कुरामा हामी सहमत हुन सक्दैनौं । विधिको शासन स्थापित गर्न हामी लडिरहनेछौं ।’

डाक्टर केसीले आजै उनले प्रधानमन्त्री देउवालाई खबरदारी पत्रसमेत लेख्नुभएको छ । पत्रमा नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गर्नुभएको छ । ‘नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल अलग हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त गरून । नत्र भने उनलाई तत्काल पदमुक्त गरियोस्,’ केसीले विज्ञप्तिमा भन्नुभएको छ ।

केसीले अब उपरान्त व्यापारी वा व्यवसायीहरूले नेता, तिनका परिवारका सदस्यलाई चोर बाटोबाट सांसद र मन्त्री हुने, सार्वजनिक संस्थाहरू डुबाउने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआओस् भन्ने आफ्नो मान्यतासमेत सार्वजनिक गर्नुभएको छ ।