काठमाडौं, साउन १२ । राष्ट्रिय सभा सदस्य विमला घिमिरे राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लगाइएका भ्रमपूर्ण आरोप र प्रयोग गरिएका शब्दहरूप्रति खेद प्रकट गर्नुभएको छ । मंगलवार राष्ट्रिय सभाको विशेष समयमा घिमिरेले यथार्थ कुरा जनतालाई बुझाउने आफ्नो दायित्व भएको भन्दै यस्तो बताउनुभएको हो । परमादेशका माध्यमबाट सरकार प्रमुख तोक्नु, दलीय व्यवस्थामा दलको ह्वीप लाग्दैन भन्नु, दुनियाँको इतिहासमा नभएको अभ्यास गरिएको बताउनुभयो । आफ्नो चिन्ता कोही व्यक्ति सिंहदरबार छिर्नु र बाहिरिनु नभएको भन्दै उहाँले जनताले वर्षौँसम्म व्यवस्थाका निम्ति गरेको बलिदानलाई धरापमा पारी संविधानको भावना विपरीत अर्थ लगाउने र कसैका निहित स्वार्थपूर्तिका लागि न्यायालयलाई प्रयोग गर्नु आफ्नो चिन्ता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपतिप्रति लगाइएका आरोप र प्रयोग गरिएका शब्दहरूप्रति म खेद प्रकट गर्दछु, परमादेशका माध्यमबाट सरकार प्रमुख तोक्नु दुनियाँमा नियम छैन, दलीय व्यवस्थामा दलीय ह्वीप लाग्दैन, हाम्रो चिन्ता कोही व्यक्ति सिंहदरबार छिर्नु र बाहिरिनु होइन, तर जनताको बलिदानले आएको व्यवस्था संविधानको भावना विपरीत अर्थ लगाउने र कसैको निहित स्वार्थपूर्तिका लागि न्यायालयलाई प्रयोग गर्नु हाम्रो चिन्ता हो ।”
उहाँले सरकारको प्राथमिकतामा जनतालाई जग्गा दिने, जग्गा वितरण गर्ने नपरेको तर बालुवाटार जग्गा प्रकरणका दोषीहरूले धमाधम उन्मुक्ति पाएकोमा आफ्नो चिन्ता रहेको गुनासो गनुभयो । उहाँ भन्नुभयो, “सरकारको प्राथमिकतामा जनतालाई जग्गा दिने र जग्गा वितरण गर्ने पर्दैन, तर बालुवाटार जग्गा प्रकरणका दोषीहरूले धमाधम उन्मुक्ति पाउँदैछन्, के यसकै लागि बनाइएको हो परमादेशको सरकार ?” जनताले बलिदान दिएर ल्याएको व्यवस्थामाथिको प्रहार नेकपा एमालेले टुलुटुलु हेरेर नबस्ने उहाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्