काठमाडौँ, असार १३ । पाँच दलिय गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाहिरिने बताउनुभएको छ । उहाँले आज सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसीको पछि नलाग्न सुझाव दिदै उक्त कुरा बताउनुभएको हो ।
मंगलवार साँझ अमेरीकी सहायक विदेशमन्त्रीसँगको टेलिफोन वार्तामा एमसीसी पारित गर्ने विषयमा छलफल भएको विज्ञप्ति सार्वजनिक भएको थियो । आज बसेको गठबन्धनको बैठकमा सरकार एमसीसी कसरी पास गर्ने भन्ने ध्याउन्नमा लागेको भन्दै आपत्ति जनाउनुभएको बालुवाटार स्रोतले जनाएको छ ।
अध्यक्ष केसीले आफूहरुले अग्रगमनका लागि गठबन्धनलाई साथ दिए पनि सरकार बन्नासाथ उसको प्राथमिकता कोभिडविरुद्ध नभइ एमसीसी र संघीयता बलियो बनाउनेतर्फ देखिएको दावी गर्नुभयो । केसीले भन्नुभयो , ‘साथीहरू त सुध्रेलान भनेको फेरि उस्तै । एमसीसी कसरी पास गर्ने ? संघीयता कसरी जोगाउने यस्ता कुरामात्र आउन थाले । यसरी त सरकारलाई कसरी विश्वास गर्ने ? अहिले हाम्रो प्राथमिकता के हो ? मैले यही कुरा राखेको हुँ ।’
केसीले बैठकमा पनि सरकार एमसीसी पारित गर्न अग्रसर हुने हो भने आफूहरु गठबन्धनबाट बाहिरिने चेतावनी दिनुभएको वैठकमा सहभागि एक नेताले बताउनुभयो । बैठकमा राजमो अध्यक्ष केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्