जनता टाइम्स

१३ श्रावण २०७८, बुधबार १७:४३

खगेन्द्र संग्रौला–महेश बस्नेतको जुहारीभित्र लुकेको त्यो कटु सत्य



ओलीले सेनाको उच्च तहमा कुरा राख्नुभयो । ओलीले सेनालाई ‘संग्रौलालाई पक्राउ गर्ने के–के कारण हो । त्यो सेनाको सरोकारको विषय भयो । त्यसमा उनीसित केरकार र खेरखार के गर्ने हो ? त्यो तपाईंहरुको विषय हो । त्यसमा मैले केही भन्न मिलेन तर संग्रौला मेरा बाल्य सखा हुन । उनी मेरो चाहिँ धेरै चिन्ता गर्छन । उनी मलाई तारो बनाएर उधुमसित कटाक्ष गर्छन, खेदो खन्दै लेखिरहन्छन । उनी कम्तीमा सहीसलामत निस्किउन । उनी ५ फिटको सगुलै ज्यान सही सलामत बाहिर निस्कन पाउन । उनी नै मेरा बारेमा चिन्ता गरेर निरन्तर लेखिरहने साथी हुन’ भन्नुभएछ । नभन्दै केही समयपछि थुनाबाट निस्केर लुखुरलुखुर ओली निवास संग्रौला आएछन । ओलीले चिया र जलपानसहित अझ मालपुवा झैँ मीठो व्यङ्ग्य वचनमार्फत सकल्लै निस्कनु भयो, अब भोलिदेखि नै मेरा बारेमा लेख्न नछाड्नु होला भनेर संग्रौलालाई सुझाउनु भएछ

डा.बद्रीविशाल पोखरेल

एमाले नेता महेश बस्नेत र खगेन्द्र संग्रौलाबीचको विवाद सतहमा आएको छ । यही विषयमा संग्रौलाले आफूलाई साइवर सेनामार्फत कसरी हो ज्यानै हरण गर्नेसम्मको कार्यवाही गर्न उद्यत रहेको आशंका गरेका छन र यसमा पार्टी अध्यक्ष केपी ओलीकै निर्देशन रहेको पनि उनले भन्न भ्याएका छन । यस विषयलगायत संग्रौलासित सम्बन्धित गुह्य कुरा सतहमा ल्याउन अत्यन्त जरुरी रहेकाले यो लेखोट लेखिएको छ । प्रगतिशील साहित्यकार भनिएकासहित अनेक विशेषण ग्रहण गरेका खगेन्द्र संग्रौला गाली शिरोमणि भनेर पनि चिनिन्छन । भारतीय शाषकले अत्यन्त अमानवीय नाकाबन्दी गरेर छिमेकी देश नेपाल र नेपालीलाई मर्माहत पार्दा संग्रौला नाकाबन्दीका कट्टर समर्थक रहेका थिए । उनी रक्सौलपारि गएर भारतीय नाकाबन्दीका घरघोर पक्षधर भएर नेपालतिर ढुङ्गामुढा बर्साउन र यस कामलाई उत्साहित गर्न न्वारानदेखिको बल लगाउँदै थिए । यसरी देश, जनता र जनजीविकाकाविरुद्ध कन्दनी कसेर लागेका खगेन्द्र संग्रौलालाई अझै प्रसिद्ध प्रगतिशील लेखक, विश्लेषक, चिन्तक, नागरिक अभियन्ता तथा साहित्यकार भन्नेहरु पाउनु उनै संग्रौलाका लागि अहोभाग्य हो ।

एक समय उनले गरेको र अझै हुति, मति र गति सपारेर राम्रै काम गरे यो लेखक पनि उनलाई सलाम गर्छ तर अब संग्रौला आफूलाई चर्चित र भाइरल बनाउन अनेक झुट र फरेबी कुरा गर्न थालेपछि उनमा सिर्जनात्मकता थलै परेको अुनूभूति हुन थालेको छ । एमालेका प्रभावशाली युवा नेता महेश बस्नेतले साइबर सेनाको चर्चा मात्र गरेको होइन । यसलाई युवा संघमार्फत संस्थागत नै गरेका हुन । तर यो सेना संग्रौलाले कलमलाई कलमका रुपमा प्रयोग नगरी झट्टी, लौरो र लाठी जसरी प्रयोग गर्नका लागि होइन । यो सेना संग्रौला जस्ता केही फतौरे र बतौरे वा फेक, मेड र पेड लेख, रचना, टिप्पणी गर्नका पनि किमार्थ होइन । यो सेना सत्य, तथ्य र वास्तविकता विपरीत मुख र कलम चलाउनेहरुलाई सत्य तथ्यमा आधारित भएर आवश्यक परे तिनको जिब्रै थुत्ने गरी प्रतिवाद गर्ने सेना हो ।

संग्रौलाजस्ता कथित केही विश्लेषक, लेखक र मानव अधिकार अभियन्ता नामका मान्छेहरु २०७६ सालमा चुच्चे नक्सा नेपालको नक्सामा समाहित नभएको र २०७७ सालमा समावेश भएपछिको अवस्थालाई एउटै डालामा हालेर तथानाम गरिरहन्छन् । अनि सरकारले राष्ट्रपतिमार्फत प्रदान गरिएका चुच्चे नक्सा बिना र चुच्चे नक्सासहितका पदक प्रदान गरेको विषयलाई जवर्जस्ती जथाभावी अनर्गल विचार व्यक्त गरिरहेको देखेपछि तिनको मतिभ्रष्ट भएको यस लेखकले उहिल्यै ठहर गरेको थियो । यति मात्र हो र पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालयको पाठ्यप्ुस्तकमा चुच्चे नक्सासहितको नेपालको नक्सा समावेश गर्दा कितावमा भरमार गल्तीसहित आफ्नो महाभारत जस्तो मन्तव्यसहित अत्यन्त विवादित किताव बजारमा ल्यउन खोजे । यस्तो काम हतार हतार गरेर तात्कालिन प्रधानमन्त्री ओलीलाई विवादको चक्रव्यूहमा पार्न मन्त्री पोखरेलले खोजे । पोखरेलले आजीवन शिक्षामन्त्री प्रदान गर्ने आफ्ना अत्यन्त परमप्रिय प्राणप्रिय नेता नारायणकाजी श्रेष्ठका षडयन्त्रपूर्वक योजनाअनुसार उक्त विषय ल्याएका रहेछन । तर यसैमा सैसला खेलेर कथित विश्लेषक लेखक र नेता मन्त्री पोखरेलको षडयन्त्रलाई ढाकछोप गर्दै ओली सरकारको एकोहारो खेदो खनिरहेका थिए र छन । यसमा भरत दाहाल, लीलामणि पोखरेल, श्याम श्रेष्ठलगायत एक हुल मान्छेहरु टुपी कसेर लागिरहेको देख्दा दया लागेर आउँछ ।

जात, भात, नाक, नश्ल, थर, गोत्र र भूगोलका आधारमा अहोरात्र नेपाललाई दीर्घ कालमा विखण्डनको विउ रोप्दै र हुर्काउँदै लागि पर्ने खगेन्द्र संग्रौला केपी ओलीदेखि यतिविधि किन रिसाएका होलान ? उपर्युक्त खालका सबै विखण्डनकारी गतिविधिविरुद्ध अथक अडान राख्ने ओलीविरुद्ध रातोदिन संग्रौला लागिपरेको स्पष्ट देखिन्छ । आइएनजिओको मोटो लगानीमा जूनकिरी संगीत नामको एक उपन्यास लेख्ने संग्रौला के हुन ? के होइनन ? पछिल्लो अवधिका आफ्ना तमाम भड्काउ गतिविधिका कारण देशभक्त हुन कि घाती हुन ? पाठकले खोतल्नु होला । तर यस लेखकले संग्रौलाको देशभक्तिप्रति अत्यन्त गम्भीर आशंका गरेको छ । यसै कुरालाई ध्यानमा राखेर सुप्रसिद्ध लेखक विश्लेषक सौरभले नेपालमा बुद्धिजीवी नगण्य बराबर रहेको अझ उहाँले त एक अन्तर्वार्तामा नेपालमा ९९.९५ प्रतिशत बुद्धिजीवी नै नरहेको उल्लेख गर्नुभयो । यो कुरा संग्रौला जस्ता लेखक विश्लेषक र बुद्धिजीवीलाई देखेर नै भनेको हुनुपर्छ । जुनकिरीको संगीत उपन्यासमा संग्रौलाले वर्ग द्वन्द्वलाई पितिक्क उल्लेख नगरी जात, भात, नाक र नश्ल द्वन्द्वको भुमरीमा नेपाललाई पार्ने दुश्प्रयत्न उहिलेदेखि नै गरिआएका हुन ।

कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको देश, जनता र जनजीविकाका खातिर मरिमेटेर लाग्ने र दर्शन, विचार, ज्ञान, विद्वत्ता र वाककुशलता जस्ता बहुआयामिक व्यक्तित्वविरुद्ध दाह्रा किट्ने र उहाँको इष्र्याले चिटचिट पसिना आउने र उपध्रै काम ज्वरोले थलिने संग्रौला अहिले पनि ओलीदेखि जलिरहेको देखिन्छ । उनले मिडियामा यही ज्वरोका कारण बारबार ओली विरोधी सार्वजनिक रोइलो गरिरहेका छन । यस्तो रोइलो संग्रौलाले कथित लेखन, वाचन र विश्लेषण कर्मका क्रममा गरिरहँदा देख्नेलाई समेत लाज लाग्न थालेको छ । खगेन्द्र संग्रौलाको यो रोइलोमा ओलीप्रति बेतुकी ईष्या, रोष, जलन, डाह र फोवियाग्रस्त अवस्था झल्किन्छ ।

कुनै कुनै रोइलो अचम्मको हुन्छ । जसलाई देखाउन, नाटकीय तथा रमिते बटुवा लक्षित गरेर रोइन्छ र यसले श्रोता दर्शकको ध्यान खासै आकर्षित नभएपछि संग्रौला जस्ता बीच बाटामा रोइलो गर्नेले र्याल सिँगान काड्छ, डाँको छोड्छ, आफ्नो कपाल आफैँ लुच्छ र रमित देखाउँछ । देख्नेलाई नै सरम हुने गरी बारबार इष्र्या, जलन र घृणा मिश्रित संग्रौलाको रोइलो लेखोट देख्दा १५ वर्ष अघिजसो उनैलाई दमकको एक कार्यक्रमा ओली केन्द्रित सरगर्मी लेखनको कारण यस लेखकले सोधेको थियो ।

यस लेखकले संग्रौलालाई तपाईंहरुका बीच पुस्तैनी रिस, इबी, लेनदेन, अंशवण्डा आदि कुनै आपसी झैझगडाहरु भएका त होइनन भनी प्रश्न गर्दा त्यसमा उनले जवाफ दिएनन । कारण अर्थात सोझै भन्न मिल्ने तर्क र तथ्यपूर्ण विषय नभएर संग्रौला मौन जस्तै बसेका थिए । एकातिर संग्रौला एकतारे र एकसुरे शैलीमा लगातार ओली केन्द्रित लखोटमार्फत रोइलो गरिरहेका छन । तर ओली भने संग्रौलाको रोइलो देखेर र सुनेर चुपचाप देखिनु हुन्छ । बतासे बटुवाहरु के के भनिहिड्छन, सबैलाई जवाफ दिइरहन पनि त सुहाएन नि । विराटनगर निवासी एमाले केन्द्रीय पार्षद् तथा नेता बाबुराम कार्कीका अनुसार ओलीले माओवादी द्वन्द्वकालमा संग्रौलाको ज्यान बचाइ दिएका थिए । जसअनुसार त्यस कालमा संग्रौला निक्कै खरो किसिमले माओवादी पक्षधर भएर लागि परेछन । यसको सुराक थाहा पाएर सेनाले यिनलाई कब्जामा लियो । तीन चारदिनदेखि बेपत्ता श्रीमानको खोजीमा उनकी जहान भौतारिँदै ओली समक्ष आइछन । उनले पति संग्रौला सेनाको कब्जामा परेको थाहा पाएपछि चिनजानका र प्रभावका आधारमा ओलीसित समस्या राखिन ।

ओलीले सेनाको उच्च तहमा कुरा राख्नुभयो । ओलीले सेनालाई ‘संग्रौलालाई पक्राउ गर्ने के–के कारण हो । त्यो सेनाको सरोकारको विषय भयो । त्यसमा उनीसित केरकार र खेरखार के गर्ने हो ? त्यो तपाईंहरुको विषय हो । त्यसमा मैले केही भन्न मिलेन तर संग्रौला मेरा बाल्य सखा हुन । उनी मेरो चाहिँ धेरै चिन्ता गर्छन । उनी मलाई तारो बनाएर उधुमसित कटाक्ष गर्छन, खेदो खन्दै लेखिरहन्छन । उनी कम्तीमा सहीसलामत निस्किउन । उनी ५ फिटको सगुलै ज्यान सही सलामत बाहिर निस्कन पाउन । उनी नै मेरा बारेमा चिन्ता गरेर निरन्तर लेखिरहने साथी हुन’ भन्नुभएछ । नभन्दै केही समयपछि थुनाबाट निस्केर लुखुरलुखुर ओली निवास संग्रौला आएछन । ओलीले चिया र जलपानसहित अझ मालपुवा झैँ मीठो व्यङ्ग्य वचनमार्फत सकल्लै निस्कनु भयो, अब भोलिदेखि नै मेरा बारेमा लेख्न नछाड्नु होला भनेर संग्रौलालाई सुझाउनु भएछ ।

उहिले भृगु नामका एक ऋषि थिए । उनी सबै प्राणीको अन्तर मनदेखि भलो चाहन्थे । एक दिन न्यास र ध्यान गरेर खोला किनारमा बसिरहेको बेला खोला किनारमा एउटा बिच्छी बग्दै गरेको ऋषिले देखे । यो दृश्य देख्ने बित्तिकै भृगु ऋषि बिच्छीलाई बचाउन न्यास र ध्यान छाडेर दौडिँदै खोला किनारमा पुगे । बिच्छीलाई बनाउन खोजे । बिच्छीले ऋषिको औँलामा टोक्यो । ऋषिको हातबाट रगत बग्यो । फेरि पनि ऋषिले बग्नै लागेको बिच्छीलाई जोगाउन खोजे फेरि पनि बिच्छीले ऋषिको हातमा टोकेर रक्ताम्य बनायो । यो दृश्य हेरिरहेका भृगु ऋषिका शिष्यहरुले गुरु भृगुलाई सोधे, गुरुवर, तपाईं बिच्छीलाई बारबार बचाउन खोज्नु हुन्छ । बचाउन खोज्दा बिच्छीले हातमा टोकेर रक्ताम्य बनाउँछ तर पनि तपाईं त्यही बिच्छीलाई किन बचाउन खोज्नु हुन्छ ? शिष्यहरुको प्रश्न सुनेर हाँस्दै भृगु ऋषिले मेरो धर्म प्राणी मात्रको सुरक्षा गर्नु हो भने बिच्छीको धर्म टोक्नु हो मात्र टोक्न हो । बाबु त्यसैले म मेरो धर्म जसरी पनि पूरा गर्छु र गर्नुपर्छ ।

लेखकले ओली र संग्रौलासित दाँज्न यो कथाको प्रसंग झिकेको भने होइन । पाठकहरु विज्ञ हुनुहुन्छ । यसमा यस लेखकले धेरै बोल्नै पर्दैन । ओलीले एक प्रसंगमा भनेझैँ तस्वीर आफैँ बोल्छ । तर महेश बस्नेतले भनेझैँ यही लेखक आम जनतालाई चरम भ्रममा पार्ने संग्रौला जस्ताका कुनियतलाई मुख र कलमले नै थला पारिदिन सक्छ । जिउँदै किन मारेर अनावश्यक रुपमा महत्व किन दिने ? अत्यन्त नकारात्मक, भद्दा तथा कुरुप शिक्षाका लागि पनि खगेन्द्र संग्रौलाको दीर्घ जीवनको यो लेखक कामना गर्छ ।