जनता टाइम्स

१३ श्रावण २०७८, बुधबार २०:५६

अर्थमन्त्री बेच्ने , किन्ने स्वास्थ्य मन्त्री


काठमाडौं, साउन १३ । माओवादी लडाकुहरूका निम्ति खरिद गरिएको अस्पताल सञ्चालन गर्न नसकेपछि बिक्री गर्ने र उक्त अस्पताल सावाँका सावाँमा खरिद गर्ने व्यक्ति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा एक साथ समेटिएका छन् । २०६३ सालमा खुला राजनीतिमा आएपछि लडाकुहरूको उपचार तथा रोजगारीका निम्ति भन्दै नेता जनार्दन शर्मा प्रभाकरको अगुवाइमा बालाजुस्थित ‘जनमैत्री अस्पताल’ खरिद गरिएको थियो ।

पहिले नारायण बजाज नामक मारवाडी व्यापारीको नाममा रहेको अस्पताललाई जनार्दन शर्माको टोलीले खरिद गरेपछि ‘जनमैत्री’ नामाकरण गरिएको थियो । अस्पतालको नाम परिवर्तन गरेसँगै माओवादीले अस्पताल धितो राखी बैङ्कसँग ऋण लिने प्रक्रिया अगाडि बढाएको थियो । तर लडाकुद्वारा सञ्चालित अस्पताल भएकोले बैङ्कहरू ऋण उपलब्ध गराउन मञ्जुर भएका थिएनन् ।

२०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री भएपछि उहाँकै दबाबमा २८ करोड रुपैयाँ ऋण उपलब्ध गराउन बैङ्कलाई बाध्य पारिएको थियो । हिमालयन बैंकको नेतृत्वमा इन्भेस्टमेन्ट, राष्ट्रिय बाणिज्य बैङ्क, ग्लोबल र सिटिजनलगायत आठ वटा बैङ्कको ‘कन्सोर्टिएम’बाट ऋण दिलाउन त्यसबेला बाबुराम भट्टराईको दबाबमा नेपाल राष्ट्र बैङ्कलाई आफ्नो निर्देशिका बदल्न बाध्य पारिएको थियो । दीपेन्द्रबहादुर क्षेत्रीलाई गभर्नर बनाएर उहाँमार्फत निर्देशिका बदलिएको थियो ।

‘प्राथमिकता क्षेत्र’ भनेर बढीमा पच्चीस लाखसम्म ऋण उपलब्ध गराउन सक्ने व्यवस्था राष्ट्र बैङ्क निर्देशिकाले गरेको भए पनि जनमैत्री अस्पताललाई ‘प्राथमिकता क्षेत्र’मा पारेर अठ्ठाइस करोड रुपैयाँ उपलब्ध गराइएको थियो ।

‘जनमैत्री अस्पताल’बाहेक अन्य कसैले पनि त्यस किसिमको विशिष्ट सुविधा पाउन सकेका छैनन् ।यसरी राष्ट्र बैङ्कको निर्देशिका नै परिवर्तन गरेर अठ्ठाइस करोड रुपैयाँ ऋण प्राप्त गर्न सफल भए पनि माओवादीको टीम अस्पताल सञ्चालन गर्न सफल भएन । बाह्र वर्षदेखि बैङ्कहरूले ब्याज पाउन सकेनन् र, माओवादीलाई कालो सूचीमा राखि अस्पताल लिलाम गराउने ‘हिम्मत जुटाउन’ पनि बैङ्कहरूले सकेनन् ।

बाह्र वर्षमा बैङ्कहरूको ब्याज थपिएर ऋण करिव डेढ अर्ब रुपैयाँ पुगिसकेको थियो । केही साताअघि बैङ्कको साँवा रकम अठ्ठाइस करोड बुझाएर उमेश श्रेष्ठले जनमैत्री अस्पताल आफ्नो नाममा ल्याउनुभएको छ । सर्वसाधारण जनतालाई सहुलियत दिनुपर्ने भएमा बैंकहरूले कम्तिमा सावाँको दोब्बर रकम लिएर सम्पत्ती नामसारी गर्दछन् । तर उमेश श्रेष्ठले ब्याज बापत एक रुपैयाँ नबुझाई आफ्नो नाममा अस्पताल ल्याउने सफलता पाउनुभयो ।

बालाजुस्थित उक्त अस्पताल बिक्री गर्ने जनार्दन शर्मा यतिबेला अर्थमन्त्री छन् भने खरिदकर्ता उमेश श्रेष्ठले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । अबका केही वर्ष शिक्षा व्यापारभन्दा स्वास्थ्यको व्यापार चम्कने देखिएपछि प्रथम महिलासँगको सल्लाहमा उमेश श्रेष्ठले जनमैत्री अस्पताल खरिद गरेको बुझिएको छ । श्रेष्ठले खरिद गरेलगत्तै अस्पताललाई चर्चामा ल्याउन केही व्यक्तिले कोरोनाको निःशुल्क उपचार हुने भनी ब्यापक प्रचारप्रसार गरेका थिए । अब स्वास्थ्य क्षेत्रमा बलियो नेटवर्क बनाएर काम गर्ने योजनामा जनमैत्री अस्पतालका मालिक एवम् स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेको बुझिएको छ ।