जनता टाइम्स

१४ श्रावण २०७८, बिहीबार १२:१२

एमालेमै रहन माधव नेपालले राखे फेरि अर्काे दुई सर्त


काठमाडौं, साउन १४ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफू एमालेमै रहनका लागि थप दुई सर्त राख्नुभएको छ । अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि कमजोर पार्नै पर्ने निश्कर्षसहित माधवले आफू एमालेमै रहनका लागि थप दुई सर्त राख्नुभएको हो ।

एमालेको बिघटित कार्यदलका एक नेताले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार नेता नेपालले पार्टी एकता बचाउने हो भने आफूलाई संसदीय दलको नेता बनाउनु पर्ने र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको निरन्तरता हुनुपर्ने सर्त राख्नुभएको हो । ‘माधवले संसदीय दलको नेता र देउवा सरकारलाई निरन्तरता दिनुपर्ने सर्त राख्नुभएको छ, हामी नै उहाँको नयाँ नयाँ सर्त सुनेर हैरान भयौं,’ कार्यदलमा रहनुभएका ती नेताले जनताटाइम्ससँग भने ।

एमाले एकताका लागि अन्तिम प्रयास भइरहेका बेला नेता नेपालले यस्तो सर्त तेस्र्याउनु भएको हो । एमालेमा हाल अध्यक्ष केपी शर्मा ओली संसदीय दलका नेता हुनुहुन्छ । माधवले आफू दलको नेता भएपछि संसदीय दलमार्फत देउवा सरकारलाई निरन्तरता दिने र बिपक्षी दलको नेताको हैसियतमा आफू निकटलाई अवसर दिने भन्दै आफ्नो समुहमा योजनासमेत सुनाउनु भएको छ । ‘मन्त्री खाए न कार्वाही हुने हो, राजदुतदेखि सवैतिर कांग्रेस बरावर हिस्सा पाइन्छ, दलको नेता भएपछि संबैधानिक परिषदमा पनि मेरै हालीमुहाली हुनछ, त्यो बेला केपीको केही चल्दैन, लु यो काम गरे म एमालेमै रहन्छु,’ माधवको भनाई उधृत गर्दै ती नेताले जनताटाइम्स डटकमसँग भने । एमाले फर्केर आफ्नो हालीमुहाली नहुने अवस्थामा भने एमालेबाट अलग हुने जवाफ माधवले दिनुभएको ती नेताको भनाई छ ।

ओलीले संसदीय दलको नेता त्याग्नुपर्ने मागलाई बटमलाइन बनाउनु भएका माधवले यसका लागि तयार नभएमा अलग दल खोल्ने निर्णय पनि सुनाउनु भएको छ । त्यस्को लागि अध्यादेशमार्फत सहज बनाउने सहमति माधवले देउवासँग गरिसक्नु भएको छ । बजेट अधिवेशन अन्त्य लगत्तै दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर नेपाल पक्षको अप्ठ्यारोमा सहजीकरण गरिदिने योजना देउवाको छ । यसअघि ओली सरकारले दल विभाजनको विद्यमान कानून परिमार्जन गर्दै अध्यादेश ल्याउँदा नेपालले चर्काे आपत्ति जनाउनु भएको थियो । तर अव भने त्यही बाटो समात्ने माधवको योजना रहेको छ ।