काठमाडौं, साउन १४ । नेकपा माओवादी केन्द्रले पदमुक्त गराइएका चारजना पूर्वमन्त्रीले सांसद पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट दीपककुमार कार्कीको एकल इजलासमा परेको छ । यसअघि माओवादीले चारै जनालाई नेकपा एमालेमा गएको भन्दै कारवाहीका आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गराएको थियो ।
टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदर हुनुपर्ने माग गर्नुभएको थियो ।
उहाँहरूले निर्वाचन आयोगको विवरणमा एमालेको सदस्यका रूपमा आफूहरूको नाम नरहेको र एमालेको कति नम्बर सदस्य भनेर आफूहरूलाई कारवाही गर्ने पक्षले देखाउन पनि नसकेको भन्दै सफाइको मौका समेत नदिई गरिएको कारवाही उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ ।
गत चैत २६ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पत्रका आधारमा संसद सचिवालयले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै उनीहरु परमादेशबाट सांसद पदमा पुनर्वहाली माग गर्दै हिजो अदालत जानुभएको थियो । आजका लागि पेसीमा चढेको उक्त रिटको सुनुवाई कार्कीको एकल इजलासबाट अन्तरिम आदेश दिने वा नदिने निर्णय हुनेछ ।













प्रतिक्रिया दिनुहोस्