जनता टाइम्स

१५ श्रावण २०७८, शुक्रबार १४:०७

भारतीय एसएसबीको चरम बदमासी, महाकाली तर्ने क्रममा तुइन काटिदिँदा एक जना नेपाली बेपत्ता


दार्चुला, साउन १५ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा एक नेपाली महाकाली नदीमा बेपत्ता भएका छन । व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका हुन ।

सदरमुकाम खलङ्गा आउने क्रममा एसएसवीको बदमासीले ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीयवासीले जनाएका छन । स्थानीयका अनुसार भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासी तुइन काटिदिएको थियो । नदीको बिच भागमा पुग्ने बेला तुइन काटिएपछि धामी बेपत्ता भएका हुन । धामी बेपत्ता भएपछि स्थानीय आक्रोशित बनेका छन ।

प्रहरीका अनुसार पाँच–छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै नेपाल आइरहेका थिए । प्रत्यक्षदर्सीको भनाई उधृत गर्दै प्रहरीले जनाएअनुसार पाँच छ जना तुइनबाट भारत तरेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन काटिदिएको थियो ।

नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा पुग्न भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता रहेको छ ।