काठमाडौं, साउन १५ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तलमाथि गर्न नहुने अडान राख्नुभएको छ । विपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले यस्तो अडान राख्नुभएको हो ।
‘पाटीको महाधिवेशनको मिति धेरै तलमाथि गर्न पाईदैन । हाम्रो संविधानले ५ वर्षपछि पार्टीको महाधिवेशनको मिति ६ महिना थप गर्न मिल्ने व्यवस्था गरेको छ, संविधानको सो व्यवस्थाअनुसार अव महाधिवेशनको मिति पछि सार्न मिल्दैन । संविधानले किटान गरेको व्यवस्था काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले उलंघन गर्न मिल्दैन,’ थापाले भन्नुभयो ।
पूर्वमन्त्रीसमेत रहनुभका थापाले पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठक नभएको पनि स्पष्ट पार्नुभयो । पार्टीको विधानले केन्द्रीय कार्य समितिबाट सो विवाद समाधान गर्नुपर्ने व्यवस्था भएपनि पार्टी नेतृत्व विधानअनुसार चल्न नसकेको आरोप थापाले लगाउनु भयो ।
सम्बोधनका क्रममा थापाले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई कुनै पनि गल्ती गर्ने छुट नभएको प्रष्ट धारणा राख्नुभयो । देउवा सरकार अव अघिल्लो सरकारमाथि दोष थोपरेर उम्कन नपाउने उहाँको भनाई थियो । अव केपी ओलीले यो गरेनन, त्यो गरेनन भन्ने दिन गएको स्मरण थापाले प्रधानमन्त्री देउवालाई गराउनु भयो । काँग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने सुझाव पनि उहाँको छ ।
प्रतिक्रिया दिनुहोस्